तुलसीपुर — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको संघीय शासन प्रणाली गलत दिशामा गइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। आइतबार तुलसीपुरमा आयोजित नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै थापाले अहिलेको अवस्थामा संघीयतालाई सही मार्गमा ल्याउन अत्यन्त जरूरी भएको बताए।
महामन्त्री थापाले २०८४ सालको आमनिर्वाचनअघि नै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारे। यदि कसैको मनमा त्यो भन्दा पहिले अधिवेशन नहुने भन्ने सोच रहेको छ भने त्यो भ्रम तुरुन्त हटाउनुपर्ने उनको भनाइ थियो। क्रियाशील सदस्यताको प्रक्रिया टुंगिएपछि २०८२ सालभित्रै अधिवेशनको प्रक्रिया सुरु गर्न सकिने उनले बताए।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले मुलुकको अवस्था सुधार गर्न नसकेको भन्दै थापाले तीव्र आलोचना गरे। उनले प्रधानमन्त्री ओलीले जस्तै सबै कुरा ठीकठाक छ भन्ने दाबीहरू वास्तविकताभन्दा टाढा रहेको बताए। सेवा प्रवाहमा कमजोरीका कारण जनतामा असन्तोष र आक्रोश बढ्दै गएको उनको ठम्याइ छ। “जनता रिसाएका बेला सरकारले गम्भीर भएर काम गर्नु बुद्धिमानी हुन्छ,” उनले जोड दिए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू डा. मिनेन्द्र रिजाल, दीपक गिरी, योगेन्द्र चौधरी, गहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत नेताहरूको उपस्थिति थियो।
प्रकाशित मिति: २३ चैत्र २०८१, आइतबार
प्रतिक्रिया