काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग गरेको सहमति उल्लङ्घन गरेको आरोप लगाएका छन्।
आइतबार लमजुङको क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीमा आयोजित एक कार्यक्रममा मन्तव्य दिंदै मन्त्री गुरुङले पूर्वराजाले “संविधानको पालना गर्ने र सार्वभौम जनताको अधिकारमा हस्तक्षेप नगर्ने” सहमति तोडेको दाबी गरे। उनका अनुसार फागुन ७ गतेदेखि पूर्वराजाले ती प्रतिबद्धता उल्लङ्घन गर्दै आएका छन्, जुन सरकारका लागि स्वीकार्य छैन।
गुरुङले पछिल्ला केही दिनदेखि राजावादी नाममा संविधान र प्रजातान्त्रिक व्यवस्थाविरोधी गतिविधिहरू बढ्दै गएको उल्लेख गरे। उनले लोकतान्त्रिक शासन व्यवस्थामा असन्तुष्टि प्रकट गर्ने अधिकार सबैलाई भए पनि, हिंसा, अराजकता र लुटपाटलाई राजावादी आन्दोलनको नाममा प्रोत्साहन दिनु अमान्य हुने स्पष्ट पारे।
“सरकार चुप लागेर हेरेर बस्दैन,” मन्त्री गुरुङले भने, “हिंसा र अराजक क्रियाकलापमा संलग्न हुने जो–कोहीमाथि कडा कारबाही हुन्छ।”
त्यस्तै, उनले जनताको रगत र पसिनाबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सरकार सधैं प्रतिबद्ध रहेको दोहोऱ्याए। संविधान, कानुन र जनताको अधिकारमाथि आघात पुर्याउने कुनै पनि शक्ति सह्य नहुने उनको चेतावनी थियो।
प्रकाशित मिति: २३ चैत्र २०८१, आइतबार
प्रतिक्रिया