पोखरा । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजक मानवसेवा फाउण्डेशन ले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। कोटिहोम वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक महायज्ञ धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले एक ऐतिहासिक महत्व बोकेको कार्यक्रम बताइएको छ।
महायज्ञको तयारी तीव्र गतिमा अगाडि बढाइएको आयोजक फाउण्डेशनले जानकारी दिएको छ। पोखराको हरिहर मन्दिर परिसर र आसपासका स्थानमा आयोजना हुने कोटीहोममा लाखौं श्रद्धालुहरूको सहभागिताको गरिएको छ।
कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ। यसका अतिरिक्त, लाखौंको विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलन, तीन सयभन्दा बढी ब्राह्मण गुरुहरूको उपस्थिति, अरबौं रामनाम लेखन तथा एक करोड शिवलिङ्ग स्थापना र बेलपत्रद्वारा पूजन गरिनेछ।
महायज्ञसँगै राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पूजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, चित्रकला प्रतियोगिता, रक्तदान, तथा धान्याञ्चल–तन्दुलाञ्चल पर्वतको निर्माण जस्ता कार्यक्रमहरू समावेश छन्। साथै, गण्डकी प्रदेशका एक हजारभन्दा बढी स्रष्टाहरूलाई सम्मान गरिनेछ।
महायज्ञ व्यवस्थापनका लागि आठ वटा समिति गठन गरिएका छन्। मार्गनिर्देशन मण्डलदेखि कानूनी सल्लाहकार समितिसम्मका संरचनाले महायज्ञलाई व्यवस्थित बनाउने जिम्मेवारी लिएका छन्। ५१०१ सदस्यीय महायज्ञ मूल आयोजक समिति गठन गरिएको छ, जसमा संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्यहरू समावेश छन्।
महायज्ञमा अनुराधा पाण्डेय, देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी जस्ता सुप्रसिद्ध कथा वाचकहरूले दिव्य प्रवचन गर्नेछन्। ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ।
महायज्ञको पूर्वतयारीस्वरूप वैशाख ३ गते भूमिपूजन तथा यज्ञकुण्ड निर्माण सम्पन्न गरिएको छ। संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिले कोटीहोमको उद्देश्य राष्ट्र शान्ति, विश्वकल्याण, धार्मिक जागरण तथा समृद्धि रहेको बताएका छन्। उनले गण्डकी क्षेत्रको आध्यात्मिक र सांस्कृतिक विशेषता उजागर गर्न कोटीहोम महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।
महायज्ञ अवधिभर संकलन हुने सहयोग राशीको पारदर्शी व्यवस्थापन गर्दै शेष रकमबाट हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासमा खर्च गरिने जानकारी पनि आयोजकले दिएको छ।
प्रकाशित मिति: २३ चैत्र २०८१, आइतबार
प्रतिक्रिया