काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सिंहदरबारको नाम परिवर्तन गरी ‘मान्छे दरबार’ राखिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले सिंहदरबारको नाम नै जनताप्रति असंवेदनशील रहेको बताए। यदि त्यसको नाम ‘मान्छे दरबार’ राखिएको भए, त्यहाँ बस्ने जनप्रतिनिधिहरूले आम नेपालीको पीडा अझ नजिकबाट महसुस गर्न सक्थे भन्ने उनको भनाइ छ।
“सिंहदरबार होइन, मान्छे दरबार राखिएको भए भित्र बस्नेहरूले नेपाली जनताको दुःख थाहा पाउने थिए,” साम्पाङले लेखेका छन्, “लोकतन्त्रमा ‘दरबार’ भन्ने शब्द नै सुहाउँदैन। त्यसको सट्टा ‘सेवा केन्द्र’ जस्तो केही जनमुखी नाम राख्दा अझ उपयुक्त हुने थियो।”
उनको तर्क छ— ‘दरबार’ भन्ने शब्द एकपटक फालिएको सामन्तवादी प्रतीक हो, जसलाई लोकतन्त्रको सन्दर्भमा पुनः स्थापित गर्नु विडम्बनापूर्ण छ। यसैले, जनताका सेवकहरू बस्ने संस्थाको नाम पनि जनताको प्रतिनिधित्व गर्ने किसिमको हुनुपर्छ।
प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार
प्रतिक्रिया