विराटनगर । धरानका मेयर हर्क साम्पाङ शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा पुगेका छन्। सहकारी संघर्ष समितिका नाममा केहि स्थानीयले कार्यालयमा तोडफोड गरेपछि उनले प्रहरीकोमा पुगेर किटानी जाहेरी दिएका हुन् ।

मेयर साम्पाङले सोमबार बराह सहकारी पीडित संघर्ष समितिका दुई जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् । त्यसलगत्तै नेकपा एमालेकी एक नेतृले उनलाई उल्टै मुद्दा हाल्ने धम्की दिएकी थिइन् ।

आइतबार बराह पीडित संघर्ष समितिको नाममा आएका एक हुलले कार्यालयमा तोडफोड गरेको भन्दै धरान-१५ का खगेन्द्र नेपाली र धरान-१६ का प्रदीप बास्तोला विरुद्ध हर्कले धरान प्रहरीमा किटानी जाहेरी दिए।

आइतबार बराह सहकारी पीडितहरूले धरान उपमहानगरपालिका घेराउ गरेका थिए। स्थानीय सरकारले बराह सहकारी पीडितहरूको समस्यामा साथ नदिएको र पीडितको कुरा नसुनेको उनीहरूको आरोप थियो ।

सो क्रममा मेयर साम्पाङले पीडितहरूलाई मलाई सोधेर बराहमा पैसा राखेको हो र ? भन्दै गैर जिम्मेवार कुरा गरेपछि आक्रोशित भिडले मेयरको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेका थिए।

बचतकर्ता र सेयर धनीहरूसहित करिब तीन सय व्यक्तिहरू आइतबार बिहान १० नबज्दै धरान उपमहानगर कार्यालय परिसरमा पुगिसकेका थिए । छाता र प्ले कार्ड बोकेर उनीहरू नगरपालिका पुग्दा मेयर साम्पाङलाई भेटेनन्। उनीहरूले उपप्रमुखलाई पनि भेट्न पाएनन्।

दिउँसो २ बजिसक्दा पनि दुवै जना उपस्थित नभएपछि नगर परिसर मात्रै हैन भित्री कार्यालय समेत अशान्त बन्दै गयो। झन्डै तीन बजेतिर मेयर आए । तर, मेयरले आन्दोलनरत पक्षको मागलाई वेवास्ता गरेको बताइन्छ।

उनले पीडितको समस्या समाधानमा लाग्ने भन्दा पनि मलाई सोधेर बराहमा पैसा राखेको हो? भन्ने अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गरेको बचतकर्ताको आरोप छ। आन्दोलनरत भिडले त्यसपछि मेयर विरुद्ध नाराबाजी मात्रै गरेनन् उनको कार्यकक्षको सिसाको झ्याल समेत फुटाइदिए।

भिड अनियन्त्रित हुँदा नियन्त्रणमा लिनका लागि आन्दोलनकारीलाई लाठीचार्ज समेत भएको बताइन्छ। तर धरान उपमहानगरपालिकाले भने सोमबार बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पूर्ण सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ।

बराहको सम्पत्ति रोक्का गर्नका लागि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय बालुवाटार, जिल्ला प्रशासन कार्यालय सुनसरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार, सहकारी बैक केन्द्रीय कार्यालय, जिल्ला सहकारी संघ सुनसरी, बचत तथा ऋण सहकारी संघ इटहरी, बचत तथा ऋण सहकारी केन्द्रीय संघ, सहकारी बैक शाखा कार्यालय धरान, सम्पत्ति सुद्धिकरण विभाग पुलचोक ललितपुर र केन्द्रीय अनुसन्धान काठमाडौंलाई पत्राचार गरिएको बताइएको छ।

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com