काठमाडौं । चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा चौधरी ग्रुपले हारेको छ। सामाजिक संजाल फेसबुकमा वाइवाइविरुद्ध लेखेको भन्दै चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति, २० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो।

गत वैशाखमा काठमाडौँ महानगरपालिकाले वाइवाई चाउचाउको गुणस्तर नभएको भन्दै चौधरी ग्रपलाई २ लाख जरिवाना गराएको थियो। त्यसपछि वाइवाई चाउचाउको गुणस्तरबारे देशभर चर्चा भएको बेला पौडेलले पनि फेसबुकमार्फत वाइवाइको गुणस्तर नभएकाले नखाने घोषणा गरेका थिए।

पौडेलले ‘बाइबाइ वाइवाई चाउचाउ, कसैले नखानु वाइवाई चाउचाउ’ भनेर फेसबुकमा लेखेका थिए। त्यसपछि चौधरी ग्रुपले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

पौडेलले आइतबार फेसबुकमार्फत् आफूले मुद्दा जितेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘चौधरी ग्रुप सङ को मुद्दामा मैले आज बल्ल करिब १ वर्ष मा न्याय पाएँ । चितवन जिल्ला अदालत लगायत मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नमन गर्न चाहन्छु।’ जिल्ला अदालत चितवनले पनि गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको जानकारी दियो।

प्रकाशित मिति: २२ पुस २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com