धनगढी, ५ वैशाख, कञ्चनपुरकाे बेदकोट नगरपालिका– ७, मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँद हत्या प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउँदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका– ७, हल्दुखालका धर्मानन्द भट्ट, वडा नम्बर १, बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउँदविरुद्ध जाहेरी परेको छ ।

यस्तै, स्थानीय कुवेरसिंह साउँद, गौरी साउँद, जानकी घडाल र चक्र साउँदविरुद्ध पनि उजुरी परेको छ । ‘उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ,’ डीएसपी शाहले भने, ‘जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सातै जनालाई पक्राउ गरिसकेकाे छ । उनीहरूविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको डीएसपी शाहले जानकारी दिए ।

गएकाे २८ चैतमा टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन् । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्त भट्टले रञ्चुलालाई थारूको भुत लागेको बताएका थिए । धामीझाँक्रीको समूहले रञ्चुलालाई आगोमा तताएको फलामे रडले हान्ने गरेको उनका आफन्तले बताउँदै आएका छन् ।उनीहरूका अनुसार रञ्चुलाको १ वैशाखमा मृत्यु भएको थियो । रञ्चुलाको शव गन्हाएपछि शनिबार स्थानीयले थाहा पाएका थिए । त्यसपछि प्रहरीले घटनास्थलमा भेटिएको फलामे रडसहित सात जनालाई नियन्त्रणमा लिएको थियो ।

शव परीक्षण गर्न धनगढीबाट विज्ञ मगाइयो

महाकाली प्रादेशिक अस्पतालमा राखिएकाे मृतक साउँदको शव अहिलेसम्म परीक्षण हुन सकेको छैन । शव सडेकाले परीक्षण गर्न असहज भएको अस्पतालका निमित्त मेसु डा. अर्जुनकुमार भट्टले बताए । शव कुहिएकाले फरेन्सिक विज्ञबाट मात्रै परीक्षण गर्नुपर्ने भन्दै सेती प्रादेशिक अस्पताल कैलालीबाट विज्ञ मगाइएकाे उनले बताए ।महाकाली प्रादेशिक अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार धनगढीबाट फरेन्सिक विज्ञ पुग्नेबित्तिकै शव परीक्षण हुने बताइन् । उनले सम्भवत आज नै शव परीक्षण हुने बताइन् ।

दोषीलाई कारबाही गर्न महिला आयोगको माग

रञ्चुलाको कुटपिट गरी हत्या गर्नेलाई तत्काल कारबाही गर्न राष्ट्रिय महिला आयोगले सरकारसँग माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले दोषीलाई कारबाही गर्न माग गरेकाे हाे ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com