संयुक्त राज्य अमेरिकामा आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिनको पार्टी आयोजना गरिदिएको भन्दै मुद्दा हाल्ने एक व्यक्तिलाई ४,५०,००० डलर तिर्न कम्पनीलाई आदेश दिइएको छ।

कन्टकीका ती व्यक्तिले जन्मदिन मनाउन आयोजना गरिने कार्यक्रमले आफूलाई उद्विग्न बनाउने र तनाव बढाउने भन्दै अरू कर्मचारीको जन्मदिनमा जस्तो आफ्नोमा उत्सव नमनाउन आग्रह गरेको दाबी गरेका छन्।

सन् २०१९ मा ग्र्याभिटी डाइअग्नोस्टिक्समा आयोजना गरिएको पार्टीपछि आफूलाई पटकपटक अत्याहट भएको दाबी केभिन बर्लिङले गरेका छन्।

बर्लिङले मुद्दामा अपाङ्गताका कारण आफूलाई भेदभाव गरिएको आरोप लगाएका थिए।

तर रोजगारदाता कम्पनीले आफूले त्यस्तो कुनै अपराध नगरेको बताएको थियो।

कन्टकीको केन्टन काउन्टीमा हालिएको मुद्दामा बर्लिङले आफ्ना प्रबन्धकलाई जन्मोत्सव मनाउने समारोहले आफूलाई अत्याहट हुने तथा बाल्यकालको नमिठो सम्झना आउने भएकाले त्यसो नगरिदिन अनुरोध गरेको दाबी गरेका थिए।

उनी उद्विग्नता हुने समस्याबाट पीडित छन्।

तर उक्त कम्पनीले अगस्ट २०१९ मा बिनाजानकारी उनको जन्मदिनको पार्टी आयोजना गरिदियो। तत्कालै उक्त कार्यक्रमबाट बाहिर निस्किएर उनले आफ्नो गाडीमा दिउँसोको खाजा खाए।

त्यसको भोलिपल्ट एउटा बैठकमा उनको आलोचना गरिएको तथा आफ्ना “सहकर्मीको खुसी”प्रति बेवास्ता गरेको तथा “सानी केटीजस्तो” भएको आरोप लगाइएको मुद्दामा उल्लेख छ।

तनावपूर्ण बैठकपछि उनलाई दोस्रो पटक अत्याहट भयो। त्यसपछि उनलाई घर फिर्ता पठाइयो।

जागिरबाटै निकाला

त्यसको केही दिनपछि कोभिड-१९ परीक्षण गर्ने ग्र्याभिटी डाइअग्नोस्टिक्सले उनलाई कार्यस्थलको सुरक्षाको कारण देखाउँदै जागिरबाट हटायो।

मुद्दामा उनले कम्पनीले आफूलाई अपाङ्गताका कारण भेदभाव गरेको र अनुरोध मानियोस् भन्दा अन्यायपरक रूपमा कारबाही गरेको दाबी गरेका थिए।

यो वर्ष मार्चको अन्त्यतिर दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४,५०,००० डलर तिर्न कम्पनीलाई आदेश दिएको छ।

त्यसमध्ये १,५०,००० डलर तलबबापत र बाँकी ३,००,००० डलर भावनात्वक पीडाका लागि भएको जनाइएको छ।

बीबीसीले मुद्दाको फैसलाबारे ग्र्याभिटी डाइअग्नोस्टिक्स र उसको प्रतिनिधित्व गर्ने कानुनी फर्मसँग प्रतिक्रिया लिन सम्पर्क गरेको छ।

पुनरावेदन गर्ने कम्पनीको विचार

कम्पनीका प्रमुख सञ्चालन अधिकृत जुली ब्रजिलले स्थानीय सञ्चारमाध्यम लिङ्क एनकेवाईलाई आफ्नो कम्पनी बर्लिङलाई कामबाट हटाउने निर्णयबारे दृढ भएको बताएकी छन्। उनका अनुसार बर्लिङले कार्यस्थलमा हुने हिंसासम्बन्धी नीति उल्लङ्घन गरेका थिए।

“यो घटनामा वादी [बर्लिङ] हैन, मेरा कर्मचारीहरू पीडित थिए,” उनले भनिन्।

उनका अनुसार यो फैसालाविरुद्ध पुनरावेदन गर्ने विषयमा कम्पनीले विचार गरिरहेको छ।

बर्लिङका वकिल टोनी बुचरले बर्लिङलाई कामबाट हटाउनैपर्नेगरी उनी कसैका लागि जोखिम भएको भन्न “प्रमाण नभएको” बीबीसीलाई बताएका छन्।

“उनलाई अत्याहट भएको थियो। त्यत्ति हो। अनि ग्र्याभिटी डाइअग्नोस्टिक्सका प्रतिनिधिहरूले उनी आतिएको बुझेनन् र उनको प्रतिक्रियाबाट हतोत्साहित भएकाले उनलाई जोखिम ठाने,” बुचरले भने।

“मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका मानिसलाई हिंसात्मक व्यवहारको कुनै प्रमाणबिना खतरनाक मान्नु विभेद हो,” उनले भने।

न्याश्नल अलाइअन्स अन मेन्टल इल्नेसको तथ्याङ्कअनुसार अमेरिकामा चार करोड अर्थात् कुल जनसङ्ख्याको झन्डै २० प्रतिशत मानिस एङ्जाईअटी डिस्अर्डर अर्थात् अत्याहट हुने समस्याबाट पीडित छन्।

-बीबीसी

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com