बारा । जितपुर—सिमरा उपमहानगरपालिकामा हिजो (बिहीबार) भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३/४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो। धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए ।

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुनेँ, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।” गाडी पल्टेको थाहा नै नभएको बताउदै उनी भन्छन् “झसङ्ग भएर बुबालाई हेरेको देखिन । उहाँलाई मानिसहरुको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरुको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।”

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउछन्। तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाई छ । गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरु पनि सम्पर्कमा आएको उनले बताए ।

प्रकाशित मिति: २१ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com