म्याग्दी । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीबाट पछाडि फर्कन नसक्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट पारेका छन्।
अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकले लामो राजनीतिक संघर्ष र जनताको बलिदानबाट प्राप्त गरेको वर्तमान शासन प्रणाली अब फर्किन नसक्ने बताए।
उनले भने, “हामीले संघीय लोकतान्त्रिक गणतन्त्र सहजै पाएका होइनौँ। यो प्रणालीलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नु आवश्यक छ। यसमा रहेका कमीकमजोरी सुधार गर्दै नेतृत्वले जनतालाई निराश नपार्ने गरी काम गर्नुपर्छ।”
जनताको पीडा बुझ्न आफू सधैं उनीहरूको घरदैलोमा पुग्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकको समुन्नतिका लागि अवलम्बन गरिएका विकास परियोजनाहरू छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।
विशेषगरी कालीगण्डकी करिडोरको निर्माण कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न आफूले आवश्यक सम्पूर्ण पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया