काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस र चीनसँग बढ्दो नजिकताप्रति तीव्र आपत्ति जनाएका छन्।
नवारोले मोदीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै उभिनु ‘लज्जास्पद’ भएको टिप्पणी गरेका छन्। उनले भने, ‘मोदी के सोचिरहेका छन् भन्ने थाहा छैन। तर हामीलाई आशा छ, उनले बुझ्नेछन् कि भारतले रूस होइन, अमेरिकाको पक्षमा उभिनुपर्छ।’
नवारोले भारतमाथि रूसी तेल खरिद गरी युद्धका लागि रकम उपलब्ध गराएको आरोपसमेत लगाएका छन्। उनका अनुसार,’भारतले रूसबाट तेल किनेर पुनः प्रशोधन गरी नाफा कमाइरहेको छ। तर यसले अन्ततः युक्रेनमाथि आक्रमणलाई सहयोग गरिरहेको छ, जसको ठूलो मूल्य भारतीय जनताले चुकाइरहेका छन्।’
भारतलाई उनले ‘रूसको वाशिङ मेसिन’ को संज्ञा दिँदै, यसरी गरिएको व्यापारले अमेरिकी हितविपरीत गठबन्धनलाई थप मजबुत बनाइरहेको आरोप लगाए। उनले अघिल्लो एक अन्तर्वार्तामा रूस–युक्रेन युद्धलाई ‘मोदी वार’ (मोदीको युद्ध) समेत भनेका थिए। नवारोका अनुसार, भारतले आजै रूसबाट तेल किन्न रोके अमेरिकाले भोलिदेखि नै भारतमाथि लगाइएको २५ प्रतिशत भन्सार शुल्क हटाइदिने तयारी गर्नेछ।
पीटर नवारो को हुन् ?
पीटर नवारो ट्रम्प प्रशासनका सबैभन्दा नजिकका व्यापार सल्लाहकार मानिन्छन्। उनले ट्रम्पको अघिल्लो कार्यकालमा मुख्य व्यापार नीतिहरू तयार पारेका थिए।
सन् २०१६ मा ट्रम्पसँग जोडिनुअघि उनले लामो समय डेमोक्र्याटिक पार्टीका लागि नीतिगत काम गरेका थिए। उनी कहिलेकाहीँ राष्ट्रपति बिल क्लिन्टन र बाराक ओबामाका अनौपचारिक सल्लाहकारको भूमिकामा समेत देखिएका थिए।
सुरुवाती करिअरमा खुला बजार र भूमण्डलीकरणका समर्थक रहेका नवारो, पछि ट्रम्पसँग नजिकिएपछि यसको तीव्र आलोचक बने। उनको मान्यता छ– अमेरिकाको औद्योगिक शक्ति पुनःस्थापित नगरेसम्म वास्तविक समृद्धि सम्भव छैन। उनी चीनलाई विश्व व्यापार संगठनमा प्रवेश दिनु नै अमेरिकाको संकटको सुरुवात भएको ठान्छन् र यसलाई ‘सर्वनाश’ को नाम दिएका छन्। नवारोका अनुसार, अमेरिकालाई संकटबाट जोगाउन सक्ने एकमात्र नेता ट्रम्प हुन्।
‘एससीओ सम्मेलन देखावटी मात्रै’
भारतीय गतिविधिबारे आलोचना गर्दै अमेरिकी वित्तमन्त्री स्कट बेसन्टले पनि टिप्पणी गरेका छन्। उनले भारतले रूसबाट कच्चा तेल खरिद गरिरहेकाले ‘मस्कोको युद्ध मेसिनलाई बल पुर्याइरहेको’ आरोप लगाएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले प्रधानमन्त्री मोदीको हालैको शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर बैठकलाई ‘देखावटी’ मात्र भएको बताए। तर उनले थपे, ‘अमेरिका र भारत दुवै बलिया लोकतन्त्र हुन्, मतभेदलाई समाधान गर्न सक्छन्।’
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया