काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवामाथि गरिएको ‘देश छाड्न लागेका छन्’ भन्ने प्रचारलाई अपराधपूर्ण सोचको परिणाम बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा महतले देउवामाथि भएको गलत प्रचारबाजीप्रति कडा आपत्ति जनाउँदै भने, ‘जुन व्यक्ति आफ्नै हत्या गर्न आउँदै छन् भन्ने खबर सुन्दा पनि घर छोडेर नहिँड्ने शेरबहादुर देउवालाई देश छाड्न लागेको भनेर बदनाम गर्नु योजनाबद्ध रूपमा गरिएको असत्य प्रचार हो।’

advertisement

उनले पासपोर्ट बनाउने अधिकार प्रत्येक नागरिकको सामान्य हक भएको उल्लेख गर्दै देउवाले देश छाड्ने भन्ने कुरा पूर्ण रूपमा भ्रम फैलाउने प्रयास भएको स्पष्ट पारे।

महतले जीवनमरणको अवस्थासँग जुधिरहेका नेताविरुद्ध भइरहेको अपमानजनक प्रचारको निन्दा गर्दै भने, ‘यस्ता अमानवीय र असंवेदनशील टिप्पणीहरू राजनीतिक संस्कारविपरीत र निन्दनीय छन्।’

त्यस्तै, पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा सभापति देउवामाथिको आक्रमणको निन्दा नगरेकाले आफू र उपसभापति पूर्णबहादुर खड्काले अलग वक्तव्य निकाल्न बाध्य भएको पनि उनले प्रष्ट पारे।

महतका अनुसार अहिले विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षर अभियानको पनि कुनै औचित्य छैन। उनले भने, ‘पार्टीभित्र नेतृत्वविरुद्ध असन्तुष्टि प्रकट गर्ने अधिकार सबैलाई भए पनि त्यसको नाममा विभाजन ल्याउने प्रयास असंगत छ।’

प्रवक्ता महतले असोज २३ गतेको गोलीकाण्डलाई रहस्यमय बताउँदै यसको निष्पक्ष र छिटो छानबिन हुनुपर्ने माग पनि गरेका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com