जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस मा प्रवेश गरेकी छन्।

जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा पार्टी सभापति गगनकुमार थापा ले उनलाई स्वागत गरेका हुन्।

advertisement

पार्टी प्रवेशपछि सम्बोधन गर्दै शर्माले रास्वपाभित्र विवादित र दाग लागेका व्यक्तिहरू हाबी भएको आरोप लगाइन्। आफूले गरेको योगदानको कदर नभएको र टिकट वितरणमा पारदर्शिता नदेखिएको भन्दै पार्टी त्यागेको उनले स्पष्ट पारिन्। सुशासन र नयाँ पुस्ताको भावना बोकेको शक्तिका रूपमा कांग्रेसलाई रोजेको उनको भनाइ थियो।

उनले कांग्रेसको लामो राजनीतिक इतिहाससँगै मधेसका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता देखिएको उल्लेख गरिन्। वर्तमान नेतृत्वले मधेसमै आएर उम्मेदवारी दिएको प्रसंग उल्लेख गर्दै मधेसवासीलाई कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न आह्वान गरिन्।

मैथिली भाषामा बोल्दै उनले मधेसले हरेक चुनावमा नेताहरूलाई मत दिए पनि अपेक्षित परिवर्तन नपाएको टिप्पणी गरिन्। यसपटक योग्य उम्मेदवार छानेर मत प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

शर्माले वर्तमान नेतृत्वमा कांग्रेस परिवर्तनको दिशामा अघि बढेको दाबी गर्दै आफूलाई वैकल्पिक शक्ति बताउने रास्वपामा भने पुरानै शैली दोहोरिएको आरोप लगाइन्।

उनले मधेसबाट ठूलो संख्यामा पुरुष वैदेशिक रोजगारीमा गएकाले महिलाहरू नै मतदाताको निर्णायक शक्ति भएको उल्लेख गरिन्। महिलाको सम्मान र योगदानलाई मूल्यांकन गर्ने दल कांग्रेस भएको दाबी गर्दै सोचविचार गरेर मत दिन अनुरोध गरिन्।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com