काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्।
नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरूले गत मंगलबार सामूहिक राजीनामा बुझाएका हुन्।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा–३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा–३ की जया श्रेष्ठ, बुनपा–४ का सदस्यहरू समिप घले र कवि थापा मगर रहेका छन्।
त्यस्तै बुनपा–७ की वडा पदाधिकारी प्रतिभा सेढाई, सदस्य किरण थापा, टोखा का रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्यहरू सुजना बस्नेत र शोभा सुवेदी तथा सदस्यहरू प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटीले पनि राजीनामा दिएका छन्।
उनीहरूले सार्वजनिक गरेको राजीनामापत्रमा पार्टीभित्र पछिल्लो समय देखिएका बेतिथि र अनियमितता सुधारका लागि प्रयास गरिए पनि नेतृत्वले त्यसतर्फ गम्भीरता नदेखाएको आरोप लगाइएको छ।
राजीनामापत्रमा प्राइमरी प्रणालीमार्फत उम्मेदवार छनोट गर्ने प्रक्रियामा समेत आर्थिक अनियमितता रहेको भन्दै त्यसले पार्टीको घोषित लक्ष्य—लोकतन्त्र र सुशासनमार्फत देश निर्माण गर्ने आकांक्षामा आघात पुगेको उल्लेख गरिएको छ।
पार्टीका गतिविधिका कारण स्थानीय तहसम्म निराशा फैलिएको भन्दै उनीहरूले आजकै मितिबाट लागू हुने गरी रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका छन्।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया