काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले पार्टीका महासचिव शंकर पोखरेलले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने धारणा व्यक्त गरेकी छन्।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यसँग पराजित हुने निश्चित भएपछि तिम्सेनाले यस्तो प्रतिक्रिया दिएकी हुन्।
पोखरेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो हार स्वीकार गर्दै प्रतिस्पर्धी आचार्यलाई बधाई दिएका थिए। सोही स्टाटसमा प्रतिक्रिया जनाउँदै तिम्सेनाले हार स्विकार्नुसँगै जिम्मेवारीको नैतिकता पनि देखाउनुपर्ने बताएकी हुन्।
उनले लेखेकी छन्, ‘कमरेड, यो स्टाटस लेख्नुभन्दा अघि आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उपयुक्त हुन्थ्यो। राजनीतिमा सबैभन्दा महत्वपूर्ण कुरा नैतिकता हो।’
तिम्सेनाले पोखरेलसहित पार्टी नेतृत्व समाजको वास्तविक अवस्थाबाट टाढा रहेको आरोप पनि लगाएकी छन्। उनका अनुसार वर्तमान नेतृत्व र समितिले अब गम्भीर आत्ममूल्यांकन गर्दै पार्टीको पुनर्संरचना र पुनर्गठन गर्न आवश्यक छ।
उनले अगाडि लेखेकी छन्, ‘तपाईं र सिंगो कमिटी समाजको भावनाबाट पूर्ण रूपमा बेखबर देखिनुभएको छ। तपाईंहरूको पुस्ता केवल सामान्य असफलतामा सीमित छैन, अहिलेको अवस्थासम्म आइपुग्नुमा यसको ठूलो भूमिका पनि छ।’
तिम्सेनाले वस्तुगत यथार्थलाई आधार बनाएर मात्रै राजनीति अघि बढ्न सक्ने बताउँदै अन्तिम निर्णय सम्बन्धित नेतृत्वकै हातमा रहेको संकेत गरेकी छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया