पोखरा। पोखरामा विदेशी नागरिकसहित ट्रान्स पार्टी आयोजना गरेको आरोपमा १२ जना पक्राउ परेका छन्।
अवैध रूपमा ट्रान्स पार्टी भइरहेको सूचना पाएपछि कास्की प्रहरीले मध्यरातमा पोखरा–१८ स्थित बमेन्द्र पुनले भाडामा लिएको घरमा छापा मारेको हो। उक्त घर स्थानीय कृष्ण पराजुलीको पुरानो घर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद भएका छन्। पक्राउ परेकामध्ये ८ जनालाई लागुऔषध मुद्दा र ४ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ।
बरामद भएका लागुऔषधहरूमा एमडीएमए, चरेश, कोकिन, खात, आइस/एम्फेटामाइन, पोल्यान, म्याजिक मसरुम, पेपर एलएसडी र झोल एलएसडी रहेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीया सृष्टि चन्द र ३५ वर्षका अनुभव शर्मा तथा ब्राजिलका ४८ वर्षका चार्ल्स गुवाईवा रहेका छन्। नेपालीहरूमा पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, २७ वर्षका विशाल परियार, पोखरा–५ का २५ वर्षीय आशीष दर्जी, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षका सक्षम कोइराला, रोशन अधिकारी, २८ वर्षका विवेक परियार र २६ वर्षका लोकबहादुर घर्ती मगर रहेका छन्।
प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ। विदेशी नागरिकसमेत संलग्न भएर लागुऔषधसहित ट्रान्स पार्टी सञ्चालन हुनु गम्भीर घटना भएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया