नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्ध भारतको अभियान अझ कडा रूपमा अघि बढ्ने बताएका छन् । भारत–पाकिस्तानबीच गत वर्ष उत्पन्न भएको सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा उनले सुरक्षा र आतङ्कवादको मुद्दामा भारत कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट सन्देश दिएका हुन् ।
प्रधानमन्त्री मोदीले बिहीबार जारी गरेको वक्तव्यमा पहलगाम आक्रमणका दोषीलाई भारतले ‘उचित जवाफ’ दिइसकेको दाबी गर्दै आतङ्कवादलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध कारबाही जारी रहने बताएका छन् ।
गत वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो । मृतकमध्ये अधिकांश हिन्दू पर्यटक थिए । भारतले उक्त आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो । पाकिस्तानले भने आरोप अस्वीकार गर्दै आएको छ ।
घटनापछि दुई आणविक शक्तिसम्पन्न छिमेकी मुलुकबीच तनाव तीव्र बनेको थियो । कूटनीतिक सम्बन्ध चिसिँदै जाँदा सीमाक्षेत्रमा सैन्य गतिविधिसमेत बढेको थियो ।
भारतले मे ७, २०२५ मा पाकिस्तानभित्र रहेका कथित ‘आतङ्कवादी शिविर’ माथि लक्षित सैन्य कारबाही गरेको घोषणा गरेपछि अवस्था झन् संवेदनशील बनेको थियो । त्यसपछि दुवै देशबीच हवाई आक्रमण, ड्रोन प्रहार र सीमावर्ती क्षेत्रमा भारी गोलाबारी भएको थियो ।
भारतीय सेनाले सञ्चालन गरेको उक्त सैन्य अभियानलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । सो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकहरूको साहस र वीरताको सम्मान गर्ने बताएका छन् ।
‘आतङ्कवादलाई समाप्त गर्ने र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संयन्त्र ध्वस्त पार्ने हाम्रो प्रतिबद्धता अझ बलियो छ,’ मोदीले वक्तव्यमा उल्लेख गरेका छन् ।
भारत सरकारले ‘सिन्दूर’ शब्दलाई विशेष भावनात्मक प्रतीकका रूपमा प्रस्तुत गरेको थियो । हिन्दू महिलाले विवाहपछि लगाउने रातो सिन्दूरलाई पहलगाम आक्रमणमा श्रीमान् गुमाएका महिलाको पीडासँग जोड्दै सरकारले राष्ट्रिय भावना र प्रतिशोधको प्रतीकका रूपमा प्रयोग गरेको थियो ।
गत वर्ष चार दिनसम्म चलेको सैन्य तनावमा दुवै पक्षका ७० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यस क्रममा पाकिस्तानले भारतीय वायुसेनाका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो । इस्लामाबादका अनुसार तीमध्ये तीनवटा अत्याधुनिक फ्रान्सेली राफेल विमान थिए । भारतले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
दुवै देशबीचको तनाव अन्ततः मे १० मा युद्धविराममार्फत रोकिएको थियो । युद्धविरामको जानकारी सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सञ्जालमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि भारत र पाकिस्तान दुवैले युद्धविराम भएको पुष्टि गरेका थिए ।
यद्यपि भारतले युद्धविराम अमेरिकाको मध्यस्थतामा नभई पाकिस्तानसँगको प्रत्यक्ष संवादमार्फत भएको दाबी गर्दै आएको छ । नयाँदिल्लीले काश्मीर र सुरक्षा सम्बन्धी विषयलाई दुई देशबीचको द्विपक्षीय मुद्दाका रूपमा मात्रै हेर्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्याएको छ ।
एक वर्ष बितिसक्दा पनि भारत–पाकिस्तान सम्बन्ध सामान्य बन्न सकेको छैन । काश्मीर विवाद, सीमापार आतङ्कवाद र पारस्परिक अविश्वासका कारण दुवै देशबीच तनाव अझै कायम रहेको विश्लेषकहरू बताउँछन् । मोदीको पछिल्लो अभिव्यक्तिलाई भारतले आफ्नो सुरक्षा नीतिमा कुनै नरमी नअपनाउने संकेतका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया