काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायतका विषयमा व्यापक छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

advertisement

उक्त अवसरमा उपराष्ट्रपति यादवले सन् १९६० देखि स्थापित कूटनीतिक सम्बन्धले दुई देशबीच मैत्री, सद्भाव र पारस्परिक विश्वासलाई मजबुत बनाएको उल्लेख गरे। उनले अर्थतन्त्र, व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको औंल्याउँदै त्यसबाट दुवै मुलुकले लाभ लिनुपर्नेमा जोड दिए।

यादवले नेपाली नागरिकलाई रोजगारीका अवसर उपलब्ध गराएकोमा इजरायल सरकारप्रति आभार व्यक्त गर्दै कृषि प्रविधि र अनुसन्धानमा हुने सहकार्यले नेपालको कृषि क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै, शिक्षा, कृषि, सहकारी विकास, सुरक्षा निकायको तालिमलगायत क्षेत्रमा इजरायलले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे।

उनले पश्चिम एसियामा विकसित भइरहेका घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै, इजरायलको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा त्यहाँको सरकार र जनतालाई शुभकामना व्यक्त गरे।

राजदूत बासले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै कृषि, माहुरी पालन र माछापालनजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल इच्छुक रहेको बताए। उनले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत नेपाली युवाले सीप हासिल गरी स्वदेशमै योगदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि रोजगारीका अवसर बढाउन इजरायल सकारात्मक रहेको बताए। साथै, प्राविधिक क्षेत्रमा सहयोग विस्तार गर्ने योजना रहेको जानकारीसमेत उनले दिए।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com