काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्ध लाई परम्परागत राजनीतिक विवाद र भूराजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठाएर विकास, आर्थिक सहकार्य र साझा समृद्धिमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
भारतीय सञ्चारमाध्यममा प्रकाशित एक लेखमार्फत उनले दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्ने आवश्यकता औंल्याएका हुन्।
लामिछानेले नेपालको नयाँ राजनीतिक नेतृत्व विगतका राजनीतिक बोझ, पूर्वाग्रह र असमझदारीबाट मुक्त रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रहरूसँग पारदर्शी, व्यावहारिक र भविष्य–मुखी सम्बन्ध विकास गर्न इच्छुक रहेको बताएका छन्।
उनका अनुसार नेपालले अब परराष्ट्र सम्बन्धलाई विकास, लगानी, प्रविधि र आर्थिक अवसरसँग जोडेर अघि बढाउन चाहन्छ।
उनले नेपाल–भारत सम्बन्ध केवल कूटनीतिक सम्बन्ध मात्र नभई साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनस्तरको आत्मीयतामा आधारित रहेको उल्लेख गरेका छन्।
जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगया जस्ता धार्मिक तथा सांस्कृतिक सम्बन्धले दुई देशबीचको आत्मीयतालाई अझ बलियो बनाएको उनको भनाइ छ।
भारतले पछिल्ला वर्षहरूमा आर्थिक विकास, पूर्वाधार निर्माण र औद्योगिक विस्तारमा हासिल गरेको प्रगतिलाई नेपालले सकारात्मक रूपमा हेरेको उल्लेख गर्दै उनले नेपालको विकास यात्रामा भारत महत्वपूर्ण साझेदार बन्न सक्ने धारणा व्यक्त गरेका छन्।
नेपालको लक्ष्य भारतको विकास अनुभवबाट सिक्दै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्नु रहेको उनले बताएका छन्।
दुई देशबीचको भौतिक सम्पर्क सञ्जाल विस्तारलाई विशेष महत्व दिँदै लामिछानेले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई नेपाल–भारत आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा व्याख्या गरेका छन्।
उक्त रेलमार्ग निर्माण भएपछि व्यापार, पर्यटन, लगानी र जनस्तरको आवागमनमा उल्लेखनीय परिवर्तन आउने विश्वास उनले व्यक्त गरेका छन्।
उनले नेपालले भारतको केन्द्रीय सरकारसँग मात्र नभई विभिन्न राज्य सरकारहरूसँग पनि आर्थिक र विकास साझेदारी विस्तार गर्न चाहेको बताएका छन्।
भारतका प्रमुख आर्थिक केन्द्रहरू र नेपालका पर्यटकीय तथा सांस्कृतिक गन्तव्यहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको क्षेत्रमा सहकार्यको सम्भावना औंल्याउँदै उनले नेपाल र भारतका प्रविधि केन्द्रहरूबीच ‘डिजिटल कोरिडोर’ निर्माणको अवधारणा अघि सारेका छन्।
यसले प्रविधि हस्तान्तरण, नवप्रवर्तन, स्टार्टअप विकास र डिजिटल रोजगारी सिर्जनामा सहयोग पुग्ने उनको विश्वास छ।
औद्योगिक विकासको क्षेत्रमा सीमा क्षेत्रमा संयुक्त लगानीमा मल कारखाना स्थापना गर्न सकिने तथा भारतका प्रतिष्ठित शैक्षिक र स्वास्थ्य संस्थाहरूलाई नेपालमा सहकार्यका लागि प्रोत्साहन गर्न सकिने धारणा पनि उनले व्यक्त गरेका छन्।
शिक्षा, स्वास्थ्य, ऊर्जा र प्रविधि क्षेत्रमा सहकार्य विस्तारले दुवै देशलाई लाभ पुग्ने उनले उल्लेख गरेका छन्।
जलविद्युत क्षेत्रलाई नेपाल–भारत सहकार्यको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै लामिछानेले नेपालको विशाल जलविद्युत क्षमता भारतीय बजारका लागि स्वच्छ ऊर्जा स्रोत बन्न सक्ने बताएका छन्।
ऊर्जा व्यापारले नेपाललाई आर्थिक लाभ दिलाउने मात्र नभई क्षेत्रीय ऊर्जा सुरक्षामा समेत योगदान पुर्याउने उनको भनाइ छ।
व्यापारिक प्रक्रियालाई सरल बनाउन सीमा व्यवस्थापनमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले आधुनिक एकीकृत जाँच चौकी, पारगमन सुविधा र डिजिटल प्रणालीमार्फत व्यापारिक अवरोध घटाउनुपर्ने धारणा राखेका छन्।
यसले ढुवानी लागत घटाउने र व्यापारिक वातावरणलाई सहज बनाउने अपेक्षा गरिएको छ।
खेलकुद क्षेत्रलाई पनि दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने माध्यमका रूपमा उल्लेख गर्दै उनले नेपाली खेलाडी र खेल संरचनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्न सकिने सम्भावनाबारे चर्चा गरेका छन्।
सीमा, व्यापार र अन्य संवेदनशील विषयहरूलाई संवाद र आपसी विश्वासका आधारमा समाधान गर्नुपर्नेमा जोड दिँदै लामिछानेले वास्तविक मित्रता समस्याहरूलाई बेवास्ता गरेर सम्भव नहुने बताएका छन्।
ऐतिहासिक तथ्य, पारस्परिक सम्मान र कूटनीतिक संवादका माध्यमबाट बाँकी रहेका विषयहरूको समाधान खोजिनुपर्ने उनको धारणा छ।
उनले स्थिर, समृद्ध र आर्थिक रूपमा सक्षम नेपाल भारतका लागि पनि लाभदायक हुने उल्लेख गर्दै दुवै देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर अहिले उपलब्ध रहेको बताएका छन्।
साझा हित, पारस्परिक सम्मान र विकास साझेदारीमा आधारित सम्बन्ध निर्माण गर्न नेपाल प्रतिबद्ध रहेको उनको निष्कर्ष छ।
लामिछानेका अनुसार नयाँ पुस्ताको नेतृत्व राजनीतिक विवादभन्दा बढी सुशासन, पारदर्शिता, संस्थागत सुधार र परिणाममुखी कार्यसम्पादनमा विश्वास गर्छ।
यही आधारमा नेपाल र भारतबीच विश्वास, सहकार्य र साझा समृद्धिको नयाँ अध्याय सुरु गर्न सकिने उनको विश्वास रहेको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया