रुकुम पश्चिम । रुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा एक वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाठा, मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका–५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, ३० वर्षीय शिव विवश घर्तीमगर, नन्दकुमार घर्तीमगर तथा त्रिवेणी गाउँपालिका–२ का ४० वर्षीय मनबहादुर बोहोरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबार बिहान करिब २ बजे त्रिवेणी गाउँपालिका–४ स्थित लामाखेतमा रहेको विमलबहादुर खड्काको घरमा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा खटिएको ६ सदस्यीय टोलीले छापा मार्ने क्रममा जुवाको खालबाट नगद १ लाख ६७ हजार १०५ रुपैयाँ, एक गड्डी खोलिएको र अर्को एक गड्डी नखोलिएको तास बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याइएको छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया