एजेन्सी । उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जना घाइते भएका छन्। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार इवाटे प्रान्तको प्रशान्त तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो।
एजेन्सीले जारी गरेको विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु इवाटे तटबाट करिब ४४ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का आसपासका धेरै क्षेत्रमा महसुस गरिएको थियो।
स्थानीय अग्निशमन विभागका अनुसार हासिकामी र हाचिनोहे क्षेत्रमा चार जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूको अवस्था भने गम्भीर नरहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ।
अधिकारीहरूले मुख्य भूकम्पपछि परकम्पको जोखिम कायम रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। आगामी केही दिनदेखि एक सातासम्म थप शक्तिशाली धक्का महसुस हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
जापान विश्वकै उच्च भूकम्पीय जोखिम भएका मुलुकमध्ये एक हो। चार प्रमुख टेक्टोनिक प्लेटहरूको सङ्गमस्थलमा अवस्थित जापानमा करिब एक सय सक्रिय ज्वालामुखी रहेका छन्, जसका कारण यहाँ बारम्बार भूकम्प आउने गर्छ।
सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीमा १५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। त्यसयता जापानले भूकम्पीय पूर्वतयारी र विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउँदै आएको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया