काठमाडौं। भारतको तेलङ्गाना राज्यमा श्रीमानको हत्या गरेको आरोपमा एक नर्स, उनका प्रेमी र अर्का एक सहयोगी पक्राउ परेका छन्। प्रहरीले विवाहेत्तर सम्बन्धका कारण योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
प्रहरीका अनुसार ३२ वर्षीया सन्ध्याले आफ्ना प्रेमी अनिल र उनका साथी वेङ्कट साईसँग मिलेर ३५ वर्षीय श्रीमान् प्रशान्तको हत्या गरेको आरोप लागेको छ। घटना निजामाबाद जिल्लाको मोपाल मण्डलस्थित न्यालाकल गाउँमा भएको हो।
अनुसन्धानअनुसार गत जुन ३० मा प्रशान्तलाई अत्यधिक मदिरा सेवन गराई घरको छतबाट धकेलिएको थियो। गम्भीर घाइते भए पनि उनी जीवित रहेपछि उपचारका लागि अस्पताल लगिएको थियो।
प्रहरीले अस्पतालमा उपचारका क्रममा सन्ध्याले सलाइनमार्फत रासायनिक पदार्थ र बेहोस बनाउने औषधि प्रयोग गरी श्रीमान्को हत्या गरेको आरोप लगाएको छ। सन्ध्या यसअघि निजी अस्पतालमा नर्सका रूपमा कार्यरत रहेकाले उनले आफ्नो चिकित्सकीय ज्ञानको दुरुपयोग गरेको अनुसन्धानकर्ताहरूको दाबी छ।
प्रशान्तको मृत्यु शंकास्पद देखिएपछि उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि सुरु भएको अनुसन्धान, पोस्टमार्टम प्रतिवेदन र सोधपुछका आधारमा तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा मुख्य आरोपीले घटनामा संलग्नता स्वीकार गरेकी छन् भने अर्का एक आरोपीले पनि छतबाट धकेल्ने योजनामा आफ्नो भूमिका रहेको बताएका छन्। अदालतले तीनै जनालाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार













प्रतिक्रिया