सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले गत असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। शनिबार प्रदेशसभामा उक्त प्रस्तावमाथि छलफल सुरु हुनुअघि नै कँडेलले आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।
सम्बोधनका क्रममा कँडेलले आफूका लागि पदभन्दा जनताको सेवा र जिम्मेवारी महत्वपूर्ण रहेको बताए। उनले आफ्नो कार्यकालमा प्रदेश सरकारबाट भएका विभिन्न सुधारका कामको स्मरण गर्दै सरकार सञ्चालनका क्रममा आफूले इमानदार प्रयास गरेको दाबी गरे।
कँडेलले अब गठन हुने सरकारको आयु र स्थायित्वबारे भने अहिले नै अनुमान गर्न नसकिने टिप्पणी गरे। उनले आफू प्रदेशसभामा आउँदै गर्दा नेकपा एमालेका दुई अध्यक्षबीच कुराकानी भइरहेको प्रसंग उल्लेख गर्दै कम्युनिस्ट शक्तिहरूबीचको सम्भावित सहकार्यतर्फ संकेत गरे।
कँडेल २०८० साल चैतको अन्तिम साता कर्णालीको मुख्यमन्त्री नियुक्त भएका थिए। सुरुमा नेकपा माओवादी केन्द्रको समर्थनमा सरकार गठन गरेका उनले २०८१ साउनदेखि नेपाली कांग्रेससँगको गठबन्धनमा सरकार सञ्चालन गर्दै आएका थिए।
राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्न प्रदेश प्रमुखसमक्ष जाने जानकारी दिँदै मुख्यमन्त्री कँडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया