भुटान । भुटानका गृह मामिला मन्त्री ल्योन्पो छेरिङ र ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो गेम छेरिङले पदबाट राजीनामा दिएका छन्।
भुटानी प्रधानमन्त्री कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत दुवै मन्त्रीको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो। प्रधानमन्त्रीको सिफारिसमा राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकले संविधान तथा ल्हेङ्ग्ये झुङ्छोग ऐन, २०२१ बमोजिम उनीहरूको राजीनामा स्वीकृत गरेका हुन्।
राजीनामा दिएपछि दुवै जना पूर्वमन्त्रीका रूपमा रहे पनि संसद् सदस्यको जिम्मेवारी भने निरन्तर निर्वाह गर्नेछन्।
प्रधानमन्त्री कार्यालयका अनुसार गृह मामिला मन्त्री छेरिङले ‘व्यक्तिगत विषय’ तथा उच्च नैतिक मापदण्ड कायम राख्ने आधारमा पदबाट अलग हुने निर्णय गरेका हुन्। उनले सुशासन, सार्वजनिक विश्वास र संस्थागत इमानदारीका उच्च मापदण्ड कायम राख्न आफूले राजीनामा दिएको बताएका छन्।
त्यस्तै, ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री गेम छेरिङले उमेर र नेतृत्व हस्तान्तरणलाई ध्यानमा राख्दै नयाँ पुस्तालाई उच्च जिम्मेवारीका लागि तयार पार्ने उद्देश्यले पदबाट अलग भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
दुवै मन्त्रीको सेवाप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले गृह मामिला मन्त्री छेरिङको सार्वजनिक विश्वास कायम राख्ने नैतिक प्रतिबद्धता तथा गेम छेरिङको नयाँ पुस्ताको नेतृत्व विकासमा गरेको योगदानको प्रशंसा गरेको छ।
यद्यपि, दुवै मन्त्रीले राजीनामा दिनुपर्ने थप कारण भने विज्ञप्तिमा खुलाइएको छैन।
दुवै मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने र कानुनअनुसार राजकीय स्वीकृतिका लागि सिफारिस पठाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया