काठमाडौं । पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर प्रहरीले धरपकड गरेको घटनामा प्रधानमन्त्री बालेन्द्र शाहले हस्तक्षेप गर्दै नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयले घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत घटनाबारे प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी हुन्।
दाहालका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्। साथै, समाचार कक्षमा प्रवेश गरी पत्रकारमाथि कुनै पनि प्रकारको धरपकड नगर्नसमेत प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिएको उनले उल्लेख गरेकी छन्।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको र पक्राउ गर्न समाचार कक्षमै प्रवेश गरेको घटनापछि सरकारको कार्यशैलीप्रति चौतर्फी आलोचना भइरहेको छ।
प्रधानमन्त्रीको निर्देशनपछि नियन्त्रणमा लिइएका पत्रकारको रिहाइ र घटनामा संलग्न प्रहरीको भूमिकाबारे थप चासो बढेको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया