काठमाडौं । वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाएको आरोपमा प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन्। उनीहरूसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न निकायबाट प्राप्त पत्राचार तथा विकास रनाभाटसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
नेपाल र मलेसियाबीच वैदेशिक रोजगारीसम्बन्धी भएको समझदारीपत्र (एमओयू) को प्रावधानविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ। संकलित रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्डसमेत ठूलो परिमाणमा मलेसिया पठाइएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
प्रहरीका अनुसार सम्बन्धित सम्झौता र प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गर्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर विदेशी मुद्रा विदेश पठाउने प्रक्रिया अघि बढाइएको थियो। यस क्रममा सार्वजनिक पद र जिम्मेवारीको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्याउने काम भएको आरोप छ।
गैरकानुनी रूपमा संकलित रकम कानुनी उपचार तथा प्रक्रिया पूरा नगरी मलेसिया पठाउने कार्यमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ अनुमति लिइएको सीआईबीले स्पष्ट पारेको छ।
प्रहरीले उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया