काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङसँग सम्बन्ध जोडिएकी चिनियाँ महिला एलिस हुआङ जासुस नभएको दाबी गरेका छन्।
उनले एलिसलाई जासुस नभई चिप्सको कारोबार गर्ने एक व्यवसायी महिलाका रूपमा चित्रण गरेका हुन्।
फक्स न्युजको कार्यक्रम ‘द इन्ग्राहम एङ्गल’ मा बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले एलिसलाई चिनियाँ जासुसका रूपमा प्रस्तुत गर्नु गलत भएको बताएका हुन्।
एलिस र जेन्सनबीचको सम्बन्धले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याएको थियो कि भन्ने प्रश्नमा ट्रम्पले आफूले त्यस्तो कुनै जानकारी नपाएको स्पष्ट पारे।
‘मैले उनी जासुस थिइन् भन्ने सुनेको छैन। उनी एक सुन्दर महिला थिइन्। चीनबाट आउने हरेक सुन्दर महिलालाई जासुस ठान्ने गरिएको छ। उनी चिप्स खरिद गर्ने व्यवसायी महिला थिइन्,’ ट्रम्पले भने।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताका क्रममा पनि यो विषयमा लामो छलफल नभएको बताए। उनका अनुसार सीसँगको कुराकानीमा जेन्सन हुआङको प्रसङ्ग केही समयका लागि मात्र उठेको थियो।
उनले जेन्सनलाई अत्यन्त प्रतिभाशाली व्यक्ति भन्दै उनीसँग जोडिएको घटनालाई दुःखद बताएका थिए। ट्रम्पले सीसँगको रात्रिभोजका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा पनि लामो कुराकानी भएको जानकारी दिए।
यसअघि जेन्सन हुआङले एलिससँग आफ्नो विवाहबाह्य सम्बन्ध रहेको स्वीकार गरेको समाचार सार्वजनिक भएको थियो। उक्त घटनाले उनको व्यक्तिगत तथा व्यावसायिक जीवनबारे विभिन्न प्रश्न उठाएको थियो।
यस विषयमा ट्रम्पले भने जेन्सनलाई आफ्नो पद र पेसागत भविष्यका लागि संघर्ष गर्न पटक–पटक सुझाव दिँदै आएका छन्।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया