काठमाडौं। कैलालीको धनगढीमा प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। रंगशालाको प्रारम्भिक पूर्वाधार निर्माणका लागि सरकारले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले मंसिर ४ गते विद्युतीय माध्यमबाट ठेक्का प्रक्रिया सुरु गरेको हो। निर्माण कम्पनी छनोटका लागि सिङ्गल स्टेज टु इन्भेलप विधि अपनाइने जनाइएको छ।

आह्वान गरिएको ठेक्काअन्तर्गत रंगशालाको मैदान तयार पार्न जमिनमा माटो भर्ने, सतह सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्ने काम समेटिएको छ।

बोलपत्रमा सहभागी हुन निर्माण कम्पनीले पछिल्लो आर्थिक विवरणअनुसार भ्याटबाहेक कम्तीमा १३ करोड ८१ लाख रुपैयाँको औसत वार्षिक निर्माण कारोबार गरेको हुनुपर्नेछ। साथै, कम्तीमा ११ करोड १० लाख रुपैयाँ बराबरको एउटा आरसीसी फ्रेम स्ट्रक्चर परियोजना सफलतापूर्वक सम्पन्न गरेको अनुभव पनि अनिवार्य गरिएको छ।

निर्माण कम्पनीका लागि बोलपत्र जमानत ५४ लाख रुपैयाँ तोकिएको छ। पेश गरिएको बोलपत्र ९० दिनसम्म मान्य रहनेछ भने जमानतको अवधि १२० दिन हुनुपर्ने व्यवस्था छ।

इच्छुक कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीबाट आवश्यक कागजात प्राप्त गरी बोलपत्र प्रक्रियामा सहभागी हुन सक्नेछन्।

सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण खेल पूर्वाधार आयोजनाका रूपमा हेरिएको फाप्ला रंगशाला निर्माणले क्रिकेट खेलको विकाससँगै क्षेत्रीय पर्यटन र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजना सम्पन्न भएपछि धनगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्भावित गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com