काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण सफल र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्दै भ्रमणअघि प्रमुख प्रतिपक्षसहित अन्य राजनीतिक दल र विषयविज्ञसँग आवश्यक छलफल नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपालको राष्ट्रिय हित प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका हुन्।

शर्माले राष्ट्रिय महत्त्वका विषयमा मित्रराष्ट्रसँग छलफल गर्नुअघि देशभित्रै राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्नु लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण पक्ष भएको बताएका छन्। उनका अनुसार यस्ता महत्त्वपूर्ण भ्रमणअघि प्रमुख प्रतिपक्षलगायत राजनीतिक दल र सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गर्ने परम्परालाई सरकारले निरन्तरता दिनुपर्ने थियो।

कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावना र राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले आन्तरिक तयारीसमेत गरेको शर्माले जानकारी दिएका छन्।

उनका अनुसार गत बुधबार कांग्रेसले विषयविज्ञहरूको सहभागितामा विशेष छलफल आयोजना गरेको थियो। उक्त छलफलमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका समस्या तथा भारतमा कार्यरत नेपाली श्रमिकका सरोकारलगायत विषयमा विमर्श गरिएको थियो।

नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउन कांग्रेसले लामो समयदेखि भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै शर्माले यस विषयमा पार्टीसँग पर्याप्त संस्थागत अनुभव र स्पष्ट दृष्टिकोण रहेको दाबी गरेका छन्।

तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल र विषयविज्ञसँग छलफल तथा परामर्श गर्न आवश्यक नठानेको उनको भनाइ छ। राष्ट्रिय महत्त्वको भ्रमणअघि साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्ने लोकतान्त्रिक अभ्यासलाई सरकारले बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारले सुझाव माग नगरेपछि कांग्रेसले पनि औपचारिक रूपमा आफ्ना धारणा प्रस्तुत नगर्ने निर्णय गरेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री कुनै एउटा राजनीतिक दल वा सरकारको मात्र प्रतिनिधि नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जाने भएकाले राष्ट्रिय महत्त्वका विषयमा व्यापक छलफल र साझा समझदारी आवश्यक रहेको कांग्रेसको धारणा छ। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडानलाई थप बलियो बनाउने शर्माले बताएका छन्।

यद्यपि, सरकारको कार्यशैलीप्रतिको असन्तुष्टिलाई प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्य र उपलब्धिको सम्भावनासँग जोडेर हेर्न नहुने उनले स्पष्ट पारेका छन्। सरकारसँग राजनीतिक तथा अन्य विषयमा असहमति रहे पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने सवालमा कांग्रेसको प्रतिबद्धता कायमै रहेको उनको भनाइ छ।

‘सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ,’ शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण तत्कालीन प्रचार वा क्षणिक लोकप्रियता हासिल गर्ने माध्यममा सीमित हुन नहुनेमा समेत जोड दिएको छ। भ्रमणका क्रममा विगतमा भएका सहमति र प्रतिबद्धताको कार्यान्वयन, लामो समयदेखि कायम समस्याको व्यावहारिक समाधान तथा दुवै देशको हितमा आधारित दीर्घकालीन सहकार्यका नयाँ आधार तयार हुनुपर्ने पार्टीको अपेक्षा रहेको शर्माले बताएका छन्।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com