काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले भोटेकोशी–रसुवा बाढीबाट विस्थापित नागरिकको पीडाप्रति राज्य गम्भीर बन्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बाढीका कारण घरबार र सम्पत्ति गुमाएका नागरिकलाई तत्काल राहत, संरक्षण र अभिभावकत्व प्रदान गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।
बाढीबाट विस्थापित नागरिक अहिले कहाँ जाने र कसरी जीवन गुजारा गर्ने भन्ने अन्योलमा रहेको उल्लेख गर्दै बमले उनीहरूको अवस्थाप्रति सरकार संवेदनशील बन्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत सत्तापक्षका नेताहरू नागरिकका गम्भीर समस्यामा केन्द्रित हुनुपर्ने समयमा फेसबुकमा आरोप–प्रत्यारोप र दोहोरी खेल्न व्यस्त रहेको टिप्पणी गरेकी छन्।
‘अरे ओ सत्ताधारीहरू हो, सबै कुरा ठट्टा हुँदैन !’ भन्दै उनले बाढीपीडितको दुःख र पीडालाई राजनीतिक विषयान्तरको माध्यम नबनाउन आग्रह गरेकी छन्।
सत्ताधारीहरू सामाजिक सञ्जालमा एकअर्कासँग सवाल–जवाफ गर्न र मुद्दालाई अन्यत्र मोड्न व्यस्त रहेको उनको आरोप छ। यस्तो कार्यशैलीलाई व्यङ्ग्य गर्दै उनले नयाँ ढङ्गको सुशासन यही हो भन्दै प्रश्नसमेत उठाएकी छन्।
बमले देश निर्माणको जिम्मेवारी लिएका राजनीतिक नेतृत्वले सामाजिक सञ्जालमा समय खर्चिनुभन्दा संकटमा परेका नागरिकको जीवनरक्षा र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
बाढीबाट सर्वस्व गुमाएका नागरिकले राज्यसँग ठूलो अपेक्षा नराखी कम्तीमा मानवीय व्यवहार, संवेदनशीलता र अभिभावकत्व खोज्नु स्वाभाविक भएको उनको भनाइ छ।
‘फेसबुकको भित्तो पछि पनि रङ्ग्याउन पाइएला, अहिले अलिकति नागरिकको जीवन बचाउनुहोस्,’ उनले सरकारलाई आग्रह गर्दै भनेकी छन्।
बमले बाढीपीडितको तत्कालीन समस्या समाधान, सुरक्षित बसोबास र मानवीय सहायतामा राज्यको ध्यान केन्द्रित हुनुपर्ने सन्देश दिँदै राजनीतिक नेतृत्वलाई नागरिकको पीडाप्रति जिम्मेवार बन्न आग्रह गरेकी छन्।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया