काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि उनलाई आफ्नो देश भ्रमण गराउन कूटनीतिक पहल तीव्र बनाएको छ। प्रधानमन्त्री शाहलाई छिट्टै चीन भ्रमण गराउने उद्देश्यसहित चिनियाँ राजदूत झाङ माओमिङले नेपालका उच्चपदस्थ अधिकारी तथा मन्त्रीहरूसँग छलफल अघि बढाएका छन्।

राजदूत माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा प्रधानमन्त्री कार्यालयसँग प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गरिसकेका छन्। उनले मंसिर ३ गते परराष्ट्रमन्त्री खनाल र त्यसपछि अर्थमन्त्री वाग्लेसँग भेट गरी भ्रमणको प्रस्ताव राखेको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनले शाहलाई भ्रमणको निम्तो दिएको थियो। तर शाहले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताएपछि त्यसबेला भ्रमणको तयारी अघि बढ्न सकेको थिएन। अहिले भने चीनले पुनः उच्चस्तरीय भ्रमणका लागि पहल थालेको हो। परराष्ट्र मन्त्रालयले पनि प्रारम्भिक तयारी सुरु गरेको छ।

चीनको चासोको प्रमुख विषय बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) रहेको बताइएको छ। नेपालमा बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयनबारे ठोस प्रगति नभइरहेका बेला बेइजिङले उच्चस्तरीय राजनीतिक संवादमार्फत यसलाई अघि बढाउन चाहेको देखिन्छ।

यसअघि पनि चीनले विभिन्न कूटनीतिक माध्यमबाट बीआरआई कार्यान्वयनका लागि पहल गर्दै आएको थियो। तर वर्तमान सरकारले यस विषयमा पर्याप्त चासो नदेखाएको चिनियाँ पक्षको बुझाइ रहेको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा मन्त्रीहरूले चीन भ्रमण गरिसकेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई समेत चीन भ्रमण गराउने तयारी भएको थियो। भ्रमणको मितिसमेत तय हुने चरणमा पुगेपछि उक्त कार्यक्रम स्थगित भएको बताइएको छ। अहिले भने चीनले प्रधानमन्त्री शाहकै भ्रमणलाई प्राथमिकता दिएको छ।

नेपालका लागि भारत र चीन दुवै महत्त्वपूर्ण छिमेकी तथा विकास साझेदार हुन्। यस्तो अवस्थामा प्रधानमन्त्री शाहको सम्भावित चीन भ्रमणलाई नेपालको सन्तुलित विदेश नीति र दुवै छिमेकीसँगको सम्बन्ध व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। यद्यपि भ्रमणको औपचारिक मिति र एजेन्डाबारे अहिलेसम्म सार्वजनिक घोषणा भएको छैन।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com