काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार र पूर्वाधार विकासका विषयलाई प्राथमिकता दिइनेछ।
प्रधानमन्त्री शाह दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली जाने कार्यक्रम छ। उनी अपराह्न ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यहाँ उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताज मानसिंह जानेछन्। आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले उनीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि नेपाल र भारतका उद्योगी–व्यवसायीबीच आयोजना हुने अन्तरक्रियामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली सहभागी हुनेछ।
भ्रमणको मुख्य कार्यक्रम सोमबार हुनेछ। प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। त्यसपछि मोदीले उनको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्।
भ्रमणका क्रममा एक दर्जनभन्दा बढी विकास आयोजनाको उद्घाटन तथा शिलान्यास र विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ। अयोध्या–जनकपुर रेलमार्ग, काभ्रेको पनौतीस्थित नेपाल प्रहरी एकेडेमीको भवन, दार्चुलाको पुल र भैरहवास्थित एकीकृत जाँच चौकी उद्घाटन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
नेपालले यस भ्रमणमा हवाई सम्पर्क विस्तारलाई विशेष प्राथमिकता दिएको छ। भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरिँदै आएको छ। विशेषगरी भैरहवा र महेन्द्रनगरबाट हवाई मार्ग उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ। तर यसबारे अन्तिम सहमति भइसकेको छैन।
त्यस्तै, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्ने तयारी छ। सूचना प्रविधि, बन्दरगाह तथा अन्य आर्थिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रमसमेत रहेको छ।
द्विपक्षीय वार्तामा आर्थिक सहयोग, हवाई सम्पर्क, व्यापार, पारवहन तथा विकास आयोजनाका विषयमा छलफल हुनेछ। नेपालका लागि अन्तर्राष्ट्रिय उडान सहज बनाउने हवाई प्रवेशमार्गको विषय विशेष महत्त्वको छ। यसमा सहमति जुट्न सके भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुई देशबीचको उच्चस्तरीय भेटवार्ता तथा अन्य कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यतालिका छ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया