काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाको सुरक्षा प्रणाली र प्राविधिक विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।

इसेवाको प्राविधिक कमजोरीको फाइदा उठाउँदै एआई (AI) बट प्रयोग गरी खरिद गरिएका नेपाल प्रिमियर लिग (एनपीएल) का टिकट महँगो मूल्यमा कालोबजारी भएको घटना सार्वजनिक भएको छ। यससँगै इसेवा प्रयोगकर्ताको खाताबाटै अनुमति र जानकारीबिनै रकम निकालिएको घटनाले इसेवा डिजिटल वालेटको सुरक्षाबारे थप चिन्ता बढाएको छ।

इसेवाको प्रणालीमा रहेको प्राविधिक कमजोरीको फाइदा उठाउँदै एआई बट प्रयोग गरेर प्रतिटिकट एक हजार रुपैयाँमा एनपीएलको टिकट खरिद गरिएको थियो। यसरी खरिद गरिएका टिकट सामाजिक सञ्जालमार्फत प्रतिटिकट ५ हजार भन्दा बढी रुपैयाँसम्ममा बिक्री भएको पाइएको छ।

टिकट खरिद प्रक्रियामा स्वचालित बटको प्रयोग गरी सर्वसाधारणलाई टिकट खरिद गर्न कठिन बनाइएको र त्यसको फाइदा उठाउँदै महँगो मूल्यमा टिकट बिक्री भइरहेको विषयले टिकट वितरण प्रणालीको पारदर्शिता र डिजिटल भुक्तानी सुरक्षामाथि प्रश्न उठेको छ।

यसैबीच, इसेवा प्रयोगकर्ताको खाताबाट जानकारीबिनै रकम निकालिएको अर्को घटना पनि सार्वजनिक भएको छ। बिकेश पटेलले सामाजिक सञ्जालमा आफ्नो अनुभव सार्वजनिक गर्दै अस्ति राति ९:४९ बजे आफ्नो इसेवा खाताबाट १६ हजार रुपैयाँ आफूलाई कुनै जानकारी नदिई सिद्धार्थ बैंकको खातामा ट्रान्सफर भएको बताएका छन्।

पटेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कति सजिलै मिहिनेतको कमाइ गायब हुँदो रहेछ, आज आफ्नै आँखाले देखियो।’

उनका अनुसार, आफूलाई जानकारी नै नदिई इसेवा खाताबाट रकम निकालिएपछि उनले इसेवा सपोर्ट तथा सम्बन्धित निकायमा निवेदन दिएका छन्। घटनाबारे अहिले छानबिनको प्रक्रिया अघि बढिरहेको उनले उल्लेख गरेका छन्।

सानो लापरबाही र प्राविधिक जोखिमले समेत ठूलो आर्थिक क्षति पुर्‍याउन सक्ने भन्दै उनले प्रयोगकर्तालाई मोबाइल बैंकिङ तथा डिजिटल वालेटको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

एनपीएल टिकट खरिदमा एआई बटको प्रयोग र प्रयोगकर्ताको खाताबाट अनधिकृत रूपमा रकम निकालिएको भनिएको घटनाले इसेवाको सुरक्षा संयन्त्र, कारोबार प्रमाणीकरण प्रणाली तथा प्रयोगकर्ताको रकम संरक्षण गर्ने व्यवस्थाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com