काठमाडौं । सडक दुर्घटना तथा विभिन्न विपद्‌मा परी घाइते हुने नागरिकलाई आफ्नै प्रदेशमा सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएकी हुन्।

उनका अनुसार प्रादेशिक ट्रमा सेन्टरमा आवश्यक उपकरण, दक्ष स्वास्थ्यकर्मी, विभिन्न विधाका विशेषज्ञ चिकित्सक र प्रभावकारी व्यवस्थापनको व्यवस्था गरिनेछ। यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै सम्भव हुने र जटिल अवस्थाका बिरामीलाई सम्बन्धित अस्पतालमा पठाउने प्रणाली व्यवस्थित हुने अपेक्षा गरिएको छ।

मन्त्री मेहताले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रभावकारी बनाउन अस्पताल पुग्नुअघिको आकस्मिक सेवालाई समेत प्राथमिकता दिइएको बताइन्। सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको र देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा उपलब्ध गराउन संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखिएको उनको भनाइ थियो।

एम्बुलेन्सलाई बिरामी ओसारपसार गर्ने साधनमा मात्र सीमित नराखी आवश्यक आकस्मिक उपचार सेवा प्रदान गर्न सक्ने माध्यमका रूपमा विकास गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारिन्।

त्यस्तै, ट्रमा उपचारलाई शल्यक्रिया र औषधोपचारमा मात्र सीमित नगरी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई पनि उपचार प्रणालीको अभिन्न हिस्सा बनाउनुपर्नेमा उनले जोड दिइन्। दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता र मानसिक समस्याको व्यवस्थापनका लागि पुनर्स्थापना सेवाको विस्तार गरिने पनि उनले बताइन्।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत क्षमता अभिवृद्धिका लागि मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र आवश्यक जनशक्तिको दरबन्दी व्यवस्थापनसम्बन्धी विषयलाई छिट्टै टुंगोमा पुर्‍याइने जानकारी दिइन्।

विपद्, महामारी र सवारी दुर्घटनाका समयमा राष्ट्रिय ट्रमा सेन्टरले अग्रपङ्क्तिमा रहेर सेवा दिँदै आएको उल्लेख गर्दै उनले विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता घट्ने बताइन्।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै देशभर ट्रमा उपचार सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com