जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ ।

सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात सञ्चालनमा सहजता तथा सडकको उचित व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए ।

त्यस सिलसिलामा स्थानीय तिला गाउँपालिकास्थित कुडारीबजार र त्रिवेणी बजार क्षेत्रका अतिक्रमित सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख महताराले बताए । अतिक्रमण घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गाउँपालिका र सडक डिभिजनले प्राथमिकताका साथ काम गरिरहेको उनले स्पष्ट पारे ।

अतिक्रमित संरचना हटाउने सन्दर्भमा विगतमा सूचना टाँस्नमै सीमित रहेकामा अहिले भने कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील भएको प्रमुख महताराले बताए ।

आगामी दिनमा जुम्ला लगायत कालीकोट र मुगु जिल्लाका राजमार्ग क्षेत्रभित्रका अतिक्रमित त्यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरी आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।

  • रासस

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com