काठमाडौं । नेपाललाई लागुऔषध तस्करीको मार्ग बनाउँदै भारत पुर्‍याउन खोजिएको करिब १५ करोड रुपैयाँ बराबरको ३ किलो कोकिन प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा ८७ वर्षीय कोरियाली नागरिक र भारतीय प्रहरीका एक जवान पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंसिर ११ गते ठमेलस्थित एक होटलबाट कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो। उनले विमानस्थल हुँदै नेपाल भित्र्याएको ३ किलो कोकिन बरामद गरिएको ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिए।

अनुसन्धानका क्रममा उक्त कोकिन लिन आएका भारतीय नागरिक दीपक उत्तम बाघमारे पनि पक्राउ परेका छन्। उनी भारतीय प्रहरीको स्टेट रिजर्भ पुलिस फोर्स, मुम्बईमा कार्यरत जवान रहेको खुलेको छ। उनको साथबाट प्रहरी परिचयपत्रसमेत बरामद भएको अनुसन्धान अधिकृतहरूले बताएका छन्।

प्रहरीका अनुसार कोरियाली नागरिकले पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नोभेम्बर २६ मा कोकिन नेपाल ल्याएका थिए। उक्त लागुऔषध काठमाडौँबाट भारतको मुम्बई पुर्‍याउने उनीहरूको योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ। कोकिन लुकाइएको सुटकेस आदानप्रदान गर्न दुवै जनाले गोप्य संकेत शब्दसमेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।

ब्युरोका अनुसार कोकिन कारोबारमा कोरियाली नागरिक पक्राउ परेको काठमाडौँको यो पहिलो घटना हो। यसअघि ती कोरियाली नागरिक सन् २०२६ जुलाई १९ मा पनि नेपाल आएर ठमेलकै एक होटलमा तीन दिन बसेर फर्किएको अभिलेख फेला परेको छ।

नेपाल हुँदै भारतमा कोकिन पुर्‍याउने योजनामा भारतीय प्रहरीकै बहालवाला कर्मचारी पक्राउ परेपछि घटनालाई थप गम्भीरताका साथ हेरिएको छ। पक्राउ परेका दुवै जनामाथि ब्युरोले लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com