काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर देखिएको विवाद थप चर्किएको छ । सभापति गगन थापाले पार्टी अनुशासन नमान्ने र पार्टीकै पहिचान अस्वीकार गर्नेहरूलाई विधानअनुसार कारबाही गरिने चेतावनी दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूले त्यसको प्रतिवाद गरेका छन् ।
मंसिर ८ देखि ११ गतेसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झन्डा र चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गरी गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो । निर्णयविपरीत गतिविधि जारी राखे विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने बैठकको निर्णय छ ।
बैठकले अनुशासन समिति गठन गर्ने अधिकार सभापति थापालाई दिएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट एक संयोजक र चार सदस्य रहने गरी समिति गठन गर्न सकिने व्यवस्था छ ।
सभापति थापाले आइतबार ‘हामी तयार छौँ’ अभियानको अभिमुखीकरण कार्यक्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसलाई नमान्ने वा पार्टी अनुशासन पालना नगर्ने भन्न नपाउने बताए । त्यस्तो अवस्था आए धन्यवाद दिएर बिदा गरिने उनको भनाइ थियो ।
‘कांग्रेसबाट निर्वाचित भएर वडाध्यक्ष वा पालिका अध्यक्ष पनि भइराख्छु, तर कांग्रेस मान्दिनँ र चिन्दिनँ भन्न पाइँदैन,’ थापाले भने, ‘पार्टीको अनुशासन उल्लंघन गर्नेमाथि विधानअनुसार पार्टी अगाडि बढ्छ ।’
तर, देउवा पक्षका नेताहरूले भने कारबाहीको चेतावनीलाई चुनौती दिएका छन् । राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले पार्टी कसैको निजी सम्पत्ति नभएको भन्दै हिम्मत भए कारबाही गरेर देखाउन चुनौती दिए ।
‘हामी लास र दासको पार्टी होइनौँ । कांग्रेस गगन थापाको बिर्ता पनि होइन,’ बस्नेतले भने, ‘पार्टी लोकतान्त्रिक मूल्य–मान्यता र बीपीले प्रतिपादन गरेको सिद्धान्तअनुसार चल्नुपर्छ ।’
देउवा पक्षमा रहेका कोशी प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य भुपेन्द्र राईले पार्टी र चुनाव चिह्न नछोडेका नेतामाथि कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको बताए । रुख चुनाव चिह्न लिएर चुनाव जितेका जनप्रतिनिधिलाई त्यही चिह्नको विषयमा कारबाही गर्ने चेतावनी दिन नमिल्ने उनको तर्क छ ।
देउवा पक्षकी अम्बिका बाँस्कोटाले पनि रुख चुनाव चिह्न र चारतारे झन्डा कुनै एक पक्षको निजी नभएको बताउँदै त्यसको विषय अदालतको हातमा रहेको धारणा राखेकी छन् ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट उक्त कार्यसमितिले आधिकारिकता पाए पनि देउवा पक्षले त्यसविरुद्ध कानुनी चुनौती दिँदै आएको छ । सर्वोच्च अदालतले देउवाको पुनरावेदनमा निस्सा दिएपछि दुवै पक्षबीचको विवाद थप पेचिलो बनेको छ ।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया