काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफैं उद्योग स्थापना गरेर सञ्चालन गर्नेभन्दा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्दै उद्योग र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्ने बताएका छन्।

उनले समय र आर्थिक परिवेश परिवर्तन भइसकेकाले सरकारले विगतमा जस्तो आफैं उद्योगधन्दा स्थापना गर्ने र सञ्चालन गर्ने नीति अवलम्बन गर्न नहुने धारणा राखे।

लिङ्देनका अनुसार सरकारको मुख्य जिम्मेवारी निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माण गर्नु हो। निजी क्षेत्रलाई उद्योग स्थापना गर्न प्रोत्साहित गर्न सके देशमा ठूलो संख्यामा उद्योग खुल्ने र त्यसबाट लाखौँ रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ।

‘हिजो कुनै समय सरकारले उद्योगधन्दा खोल्ने र चलाउने अवस्था थियो। तर अहिले समय बदलिएको छ,’ उनले भने, ‘सरकारले एउटा उद्योग खोल्ने, चलाउने र त्यसको प्रचार गर्ने होइन। निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, लगानीमैत्री वातावरण बनाउने र हजारौँ उद्योग स्थापना हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको हो।’

उनले निजी लगानी विस्तारका लागि नीतिगत स्थिरता, सहज वातावरण र सरकारको प्रभावकारी सहजीकरण आवश्यक रहेकोमा जोड दिए। सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्दै निजी क्षेत्रको लगानी बढाउने वातावरण बनाउन सके आर्थिक गतिविधि विस्तारसँगै रोजगारीका अवसरसमेत उल्लेख्य रूपमा बढ्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com