काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको आरोप दोहोर्याउँदै प्रहरी महानिरीक्षक (आईजीपी) लाई त्यसविरुद्ध कानुनी बाटो रोज्न चुनौती दिएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरी मुख्यालयमा ‘निश्चित बिचौलियाको प्रभाव’ रहेको आरोप लगाए। प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात मागिएको अवस्थामा पुनः करोडौँ रुपैयाँका टेन्डर आह्वान गरिएको भन्दै उनले छानबिन आवश्यक रहेको बताए।
उनले आफूले यसअघि उठाएको प्रश्नबाट पछि नहट्ने स्पष्ट पार्दै आरोप गलत लागेको भए अदालत जान आईजीपीलाई चुनौती दिए।
‘मेरो मानमर्दन भयो भन्ने लाग्छ भने अदालत गएर मुद्दा हाल्नुहोस्, कठघरामा उभिएर जवाफ दिन म तयार छु,’ उनले भने।
सुनारले सार्वभौम संसदीय समितिमा आरोप–प्रत्यारोप गरेर वातावरण बिगार्न नहुने पनि बताए।
एनजीओमाथि पनि प्रश्न
सुनारले गैरसरकारी संस्थामार्फत सामाजिक सद्भाव बिगार्ने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने गतिविधि भइरहेको आरोप लगाए। जात र धर्मका नाममा समाज विभाजित गर्ने गतिविधिमाथि राज्यले निगरानी बढाउनुपर्ने उनको भनाइ थियो।
दलित तथा गरिब समुदायका नाममा आउने सरकारी र वैदेशिक सहायता लक्षित वर्गसम्म पुग्नुपर्ने भन्दै उनले त्यस्ता बजेटमा ‘ठूलो चलखेल’ भइरहेको दाबीसमेत गरे।
वैदेशिक ऋणका आयोजनामाथि प्रश्न
सांसद सुनारले वैदेशिक सहायता तथा ऋणबाट निर्माण भएका ठूला पूर्वाधारको उपयोगितामाथि समेत प्रश्न उठाए।
उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उदाहरण दिँदै ठूलो लगानीमा संरचना निर्माण भए पनि अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए।
‘राज्यलाई ऋणको भारी बोकाएर यसरी बस्न सकिँदैन,’ सुनारले भने।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया