काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका दैनिक समस्याको सम्बोधनलाई केन्द्रमा राखेर दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।

अभियानबारे जानकारी दिँदै उनले पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी र जनजीविकासँग जोडिएका मुद्दालाई एकीकृत रूपमा अघि बढाइने बताए।

प्रचण्डका अनुसार अभियानका क्रममा पार्टीका सबै केन्द्रीय नेता जनतामाझ पुग्नेछन्। उनीहरूले नागरिकका गुनासा, समस्या र सुझाव संकलन गरी त्यसको प्रतिवेदन पार्टी केन्द्रमा बुझाउनेछन्। अभियान सम्पन्न भएपछि केन्द्रीय समितिको पूर्ण बैठक बसेर प्राप्त प्रतिवेदनको समीक्षा गरिने र त्यसकै आधारमा आगामी योजना तथा कार्यक्रम तय गरिने उनले जानकारी दिए। यससम्बन्धी निर्णय केन्द्रीय संयोजन समितिले गरिसकेको उनको भनाइ छ।

उनले अभियानका तीन प्रमुख उद्देश्य रहेको बताए। पहिलो, पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजनको काम पूरा गर्ने र महाधिवेशनको तयारीलाई अन्तिम रूप दिने रहेको छ।

दोस्रो, आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी गर्नु अभियानको उद्देश्य रहेको उनले बताए। निर्वाचनको औपचारिक कार्यतालिका सार्वजनिक नभए पनि पार्टीले अहिलेदेखि नै तयारी अघि बढाउनुपर्ने उनको भनाइ छ।

तेस्रो, राष्ट्रिय स्वाधीनता, जनजीविका, महँगी तथा विभिन्न वर्ग र समुदायले भोगिरहेका समस्याबारे जनतालाई जागरुक बनाउनु रहेको उनले स्पष्ट पारे।

प्रचण्डले बाढीपहिरोबाट भएको जनधनको क्षति, प्रभावितको खोज तथा उद्धार, पुनःस्थापना र पुनर्निर्माणका विषयलाई पनि अभियानमा समेटिने बताए। विपद् प्रभावित नागरिकका आवश्यकता र राज्यले गर्नुपर्ने कामबारे उठेका गुनासालाई सम्बोधन गर्न दबाब सिर्जना गरिने उनको भनाइ छ।

‘राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्ने, जनताको सुशासन र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्ने तथा लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्ने उद्देश्यसँग यो अभियान जोडिएको छ,’ दाहालले भने।

उनले पछिल्लो राजनीतिक परिस्थितिमा उठेका विभिन्न विषयको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता पनि औँल्याए। अभियानमार्फत जनताको वास्तविक अवस्था बुझ्ने, पार्टीभित्रका कमजोरी पहिचान गर्ने र आगामी राजनीतिक कार्यदिशा तय गर्न आवश्यक सुझाव संकलन गरिने उनले बताए।

जनताबाट प्राप्त सुझाव र अभियानका क्रममा तयार हुने प्रतिवेदनका आधारमा पार्टीको आगामी रणनीति तय गरिने प्रचण्डको भनाइ छ। राष्ट्रिय स्वाधीनता, जनजीविका र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षालाई पार्टीले प्राथमिकतामा राख्ने उनले बताए।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com