काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन्।
कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै थापाले सरकारका पछिल्ला निर्णय र घटनाक्रमले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए। लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन, परिणाम चाहिन्छ
सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै थापाले यसले शाही शासनकालमा सञ्चारमाध्यममाथि भएको हस्तक्षेपको स्मरण गराएको टिप्पणी गरे।
प्रहरी र प्रधानमन्त्रीको सचिवालयबाट आएका फरक–फरक धारणाले घटनाबारे थप अन्योल सिर्जना गरेको उनको भनाइ थियो। पत्रकार पक्राउ गर्न कसले आदेश दिएको हो, कुन कानुनका आधारमा पक्राउ गरिएको हो र त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनले माग गरे।
‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ थापाले भने, ‘किन भयो, कसले गर्यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ।’
सरकारमा बसेकाको इच्छा कानुन हुन सक्दैन
थापाले सरकारको अधिकार संविधान र कानुनबाट निर्देशित हुनुपर्ने बताउँदै व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि स्वीकार्य नहुने बताए।
राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था नभएको उल्लेख गर्दै उनले सरकारका कामकारबाही कानुनी प्रक्रिया र संस्थागत मर्यादाअनुसार हुनुपर्नेमा जोड दिए।
उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि पनि प्रश्न उठाए। सरकारले गरेका राम्रा कामको श्रेय लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि दललाई नहुने उनको भनाइ थियो।
‘सरकारले गरेका राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि दललाई हुँदैन। सरकारको नेतृत्व गर्ने दलले सरकारका कामको राजनीतिक जिम्मेवारी लिनुपर्छ,’ उनले भने।
कर्मचारी पक्राउ प्रकरणमा पनि आपत्ति
सरकारी कर्मचारीलाई कार्यस्थलबाटै प्रहरी लगाएर पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्याइएको घटनाप्रति पनि थापाले प्रश्न उठाए।
कर्मचारीले गल्ती गरेको भए प्रचलित कानुन र स्थापित संस्थागत प्रक्रियाअनुसार अनुसन्धान तथा कारबाही हुनुपर्ने उनको भनाइ थियो। प्रशासनिक प्रक्रिया मिचेर प्रहरी परिचालन गरी कर्मचारी पक्राउ गर्नु उचित नहुने उनले बताए।
समग्रमा सरकारको कार्यशैलीमा देखिएको स्वेच्छाचारिताप्रति कांग्रेसको असहमति रहेको स्पष्ट पार्दै थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको रक्षाका लागि प्रतिपक्षले निरन्तर निगरानी र खबरदारी गर्ने बताए।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया