काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा छठ पर्व मनाउन घर फर्किरहेका एकै गाउँका १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाले आफूलाई मर्माहत बनाएको घिसिङले बताएका छन्।
उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
हरेक वर्ष चाडपर्वका समयमा सडक दुर्घटना बढ्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै घिसिङले सवारीसाधनमा सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताएका छन्।
विशेषगरी विद्युतीय सवारीसाधनका प्राविधिक विशेषतालाई ध्यानमा राखेर चालकलाई आवश्यक तालिम र सचेतना दिनुपर्ने उनको भनाइ छ।
‘चाडपर्वको खुसी मनाउन घर फर्किने यात्राको अन्त्य शोकमा हुन नदिन सरकार, यातायात व्यवसायी र यात्रु सबै जिम्मेवार बनौँ,’ घिसिङले आह्वान गर्दै भनेका छन्, ‘सडक सुरक्षा र नागरिकको जीवनरक्षालाई हामी सबैले सर्वोच्च प्राथमिकता दिनुपर्दछ।’
प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया