सामान्यतया यौनिकता भनेको यौन र यौन व्यवहारसँग सम्बन्धित हाम्रा विचार, मूल्यमान्यता, धारणा, दृष्टिकोण, भावना र व्यवहार हुन् भने यस्ता विषयको शिक्षालाई यौनिक शिक्षा भन्न सकिन्छ । यो मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक सबै पक्षको अध्ययन हो । यसले यौन के हो ? किन, कहिले र कति आवश्यक छ ? सुरक्षित र असुरक्षित यौन के हो ? कस्ता–कस्ता यौनिक क्रियाकलापहरु सांस्कृतिक, सामाजिक र कानुनीरुपमा स्वीकार्य छन् र कस्ता क्रियाकलापहरु अस्वीकार्य छन् भन्ने कुराहरु बुझाउँछ । सबै मानवलाई यौन शिक्षा आवश्यक भए पनि सामान्यतया १० वर्षदेखि १९ वर्ष उमेर समूहका जिज्ञासु किशोरकिशोरीहरुलाई विद्यालयमा यौन शिक्षा दिन सके, उनीहरुका कौतुहलता तथा जिज्ञासाहरुलाई समयमै व्यवस्थित गर्न सके बालबालिकाका जिज्ञासाहरु कुण्ठामा परिणत हुनबाट जोगिन्छन् र सम्भावित दुर्घटना पनि टर्न सक्छ । यो आजको अपरिहार्य र समयसापेक्ष विषय हो ।

हालको अवस्था

हाम्रो संस्कृति, परम्परा यौनका सवालमा चुपचाप नै रहेको छ । परिवारका पुरूष तथा महिला कुनै पनि सदस्यले आफ्ना साना सदस्यलाई यौनका सवालमा खुलेर सिकाउने, भन्ने प्रचलन अझै सुरू भइसकेको छैन । यो आफूले पनि आफैँ बुझेको, समयले बुझाएको र बालबालिकाले पनि आफैँ बुझून् भन्ने चाहन्छन् । समयले बुझाउँछ भन्ने कुरामा विश्वास गर्छन् अधिकांश अभिभावकहरु । सहरमा पनि अझैसम्म पहिलोपटक महिनावारी हुँदा सूर्य दर्शन नगर्ने, पुरूषहरुलाई नहेर्ने, महिनावारी हुँदा विद्यालय नजाने, महिनावारी हुने दिन आउन लाग्दादेखि स्कुल ब्यागमा प्याड राखेर हिँड्न लजाउने, विद्यालय गएको समयमा महिनावारी भएमा शिक्षकसँग प्याड माग्न लजाउने र यथाशीघ्र विभिन्न बहाना बनाएर घर फर्किन खोज्ने, रूने, सहपाठी वा अन्य कोहीबाट यौन हिंसा भएमा पनि सामान्यतः सहने, कसैलाई नभन्ने र अति भएपछिमात्रै अर्को व्यक्तिबाट अभिभावक वा शिक्षकले थाहा पाउने आदि अवस्था छ भने गाउँको अवस्था त अझै विकराल छ । विद्यालयको पाठ्यक्रममा केही विषय समावेश भए पनि पूर्ण छैनन् र त्यही विषयको शिक्षण सिकाइ क्रियाकलापमा पनि शिक्षक तथा विद्यार्थीहरु खुल्लारुपमा सहभागी हुन, बहस र छलफल गर्न हिच्किचाउँछन् । किशोरकिशोरीहरुमा उमेरअनुकूलको यौन तथा प्रजनन स्वास्थ्यलगायत यौनसम्बन्धी वैज्ञानिकरुपमा सही, प्रमाणमा आधारित र संस्कृति सुहाउँदो ज्ञान तथा विभिन्न सम्बन्धलाई व्यवस्थापन गर्ने सीप सिकाएर उनीहरुको स्वास्थ्यलगायत समग्र जीवनमा आउन सक्ने जोखिमबाट बच्न र बचाउनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्रले बृहत्तर यौनिक शिक्षा, शिक्षक स्रोत सामग्री २०७४ समेत तयार गरेको भए पनि व्यवहारमा आशातीत सफलता हासिल हुन सकेको देखिँदैन ।

विद्यालयको भूमिका

अधिकांश किशोरकिशोरीहरुले विद्यालयमै लामो समय बिताउँछन्, विभिन्न पारिवारिक, सांस्कृतिक पृष्ठभूमिका प्रायः एउटै उमेर समूहका किशोरकिशोरीहरु विद्यालयमा जम्मा हुने भएकोले यो समयको सदुपयोग गर्न सकिए समाजमा विभिन्न प्रकारका यौनजन्य अपराध न्यूनीकरण तथा असुरक्षाहरुलाई कम गर्न सकिन्छ । विद्यालयले पाठ्यक्रममा उल्लेखित सिकाइ सहजीकरणसँगसागै विभिन्न क्रियाकलापहरु सञ्चालन गरी किशोरकिशोरीहरुलाई समयसापेक्ष र भरपर्दो यौन शिक्षा दिन सक्दछ । शिक्षकहरु समाजले मानेका, जानकार तथा शिक्षाका भरपर्दा स्रोत हुन् । विद्यालयले यौन शिक्षाका लागि भरपर्दो वातावरणको निर्माण गर्नुका साथै सामाजिक सुरक्षामा समेत भूमिका खेल्न सक्दछ । जसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक सबैले यौन शिक्षा अहिलेको आवश्यकता हो भन्ने सवालमा एउटै धारणा बनाउनुपर्दछ र वार्षिक क्यालेन्डरमै यस्ता शिक्षा दिने क्रियाकलापहरु समावेश गर्नुपर्छ । विद्यालयले आफ्ना सबै शिक्षकहरुलाई विद्यार्थीहरुमा उमेरअनुसार हुने परिवर्तन, चाहना र त्यसको सही व्यवस्थापनका बारेमा अनुशिक्षण, तालिम आदि आयोजना गरी शिक्षकको भूमिकाबारे जानकारी गराउनुपर्छ । शिक्षकहरु बीचमा यससम्बन्धमा मर्यादित ढङ्गले उचित छलफल हुने वातावरण तयार गर्नुपर्छ । शिक्षकहरुमध्येबाट पनि एक जना शिक्षक (यथासम्भव महिला)लाई फोकल शिक्षक चयन गरी यौन शिक्षासम्बन्धी कार्यक्रमहरुले निरन्तरता पाउने वातावरण तयार गर्नुपर्छ भने व्यवस्थापक तथा प्रधानाध्यापकले यसलाई सधैँ सहजीकरण गरिरहनुपर्छ ।

विद्यार्थीहरुलाई आफ्नै शिक्षक वा अन्य स्रोत व्यक्तिमार्फत साथीहरुसँगको सम्बन्धको व्यवस्थापन, विपरीत लिङ्गीसँगको सम्बन्धको व्यवस्थापन, दुव्र्यवहारयुक्त सम्बन्धहरु (चिमोट्ने, हेरिरहने, सहयोगको बहानामा नजिकमा आउने, केही चीज लिँदा वा दिँदा अनावश्यक स्पर्श गर्ने, मोबाइललगायत अन्य सामग्रीको प्रयोग गरी अनावश्यक कुरा सञ्चार गर्ने आदि) पहिचान गर्ने सीपको विकास गर्नुपर्छ भने आफूलाई गलत लाग्ने कुनै पनि गतिविधि, हाउभाउ भए गरेमा “मलाई मन पर्दैन, नो, म कम्प्लेन गर्छु आदि” भन्न सक्ने बनाउनुपर्छ । यौनिक हैरानीलाई इज्जत र प्रतिष्ठासँग जोडेर सहेर बस्नुहुँदैन, प्रतिकार गरिहाल्नुपर्छ भनेर सिकाउनुपर्छ । विद्यार्थीहरुलाई खाली हात लडाइँका केही कला सिकाएर पनि भित्रैदेखि बलियो बनाउन सकिन्छ भने विद्यार्थीहरुका बीचमा पनि सहयोग समूह बनाएर घटना बुझ्ने, परामर्श गर्ने, सचेत गराउनेजस्ता क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ । प्रत्येक विद्यार्थीहरुले आफूमाथि कुनै अनैतिक, अनिच्छित, यौनजन्य क्रियाकलाप भए गरेमा शिक्षक तथा अभिभावकलाई भन्न सक्ने खुल्ला वातावरणका लागि प्रोत्साहित गर्नुपर्छ । विद्यार्थीहरुलाई विद्यालयमा औपचारिक शिक्षासँगै जीवन उपयोगी सीप सिकाउनुपर्छ, जसअन्तर्गत आत्मजागरणको सीप, अनुभूतिको सीप, प्रभावकारी सञ्चारको सीप, अन्तरव्यक्ति सम्बन्धको सीप, समस्या समाधान गर्ने सीप, निर्णय गर्ने सीप, समालोचनात्मक र सिर्जनात्मक सोचाइको सीप, संवेग नियन्त्रण गर्ने सीप र तनाव व्यवस्थापन गर्ने सीप आदि पर्दछन्।

विद्यालयले आफ्ना विद्यार्थीहरूलाई यौनिक परिवर्तन र यस्ता परिवर्तनहरु भैरहेको अवस्थामा आउने विभिन्न यौन भावनाहरुको व्यवस्थापन गर्ने सीपका बारेमा उचित जानकारी दिन सक्यो भने जोखिमपूर्ण यौन व्यवहारहरु गर्नबाट र त्यसबाट उनीहरुको स्वास्थ्यमा पर्ने नकारात्मक असरहरुबाट बचाउन सकिन्छ । विभिन्न सिर्जनात्मक क्रियाकलाप जस्तैः खेलकुद, योगाभ्यास, ध्यान, सङ्गीत, नृत्य, साहित्य आदिमा व्यस्त बनाउँदा, पढाइमा ध्यान लगाएमा, घरमा बाबाआमाका काममा संलग्न भएमा यौनिक भावनाहरुलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । एकान्तमा एक्लै बसिरहँदा, इन्टरनेटका माध्यमबाट प्रसारित यौनसँग सम्बन्धित सामग्रीहरु हेर्दा, अध्ययन गर्दा झनै समस्या आउन सक्ने कुरालाई जानकारी गराई साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग घुलमिल भई बस्नुपर्ने कुराहरु विद्यालयमा सिकाउन सकियो भने सम्भावित दुर्घटनाबाट किशोरकिशोरीहरुलाई जोगाउन सकिन्छ ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com