काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको बताएका छन्। शनिबार झापाको बुद्धशान्ति गाउँपालिकामा नवनिर्मित ‘भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल’को औपचारिक उद्घाटन गर्दै उनले मानिस मरेपछि कामकृतिले मात्र सम्झना दिलाउने भएकाले जनहितमा लाग्नुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्री ओलीले भने, “परोपकारी कार्यबाट अरूले पनि सिक्नुपर्छ, अनुकरण गर्नुपर्छ। मानिस मर्दा केही लैजान्न, तर गरिएका सकारात्मक कार्यहरूले सधैं सम्झाइरहन्छ।”

advertisement

उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागिरथा न्यौपानेको नाममा स्थापना भएको अस्पताल समाजसेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे। “१०२ वर्षअघि जन्मिएकी भागिरथाजीको नाममा हामी आज यो अस्पताल उद्घाटन गरिरहेका छौं। उहाँको योगदानबाट अहिलेको पुस्ताले प्रेरणा लिन सक्नुपर्छ,” उनले जोड दिए।

झापाको बुद्धशान्ति गाउँपालिका–३ मा रहेको अस्पतालको नाम भागिरथा न्यौपानेको नाममा राख्ने प्रयास अघिल्लो पटकहरूमा सफल हुन सकेको थिएन। तर, २०८० साल चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालको नाम ‘भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल’ राख्ने निर्णय गरेपछि शनिबार विधिवत रूपमा उद्घाटन गरिएको हो।

गत असोज १० गते अस्पताल भवनबाट सेवा सुरु गरिएको थियो। सो दिन भागिरथा न्यौपानेका छोरा हरिप्रसाद र कुलप्रसाद न्यौपानेले संयुक्त रूपमा रिबन काटेर सेवा शुभारम्भ गराएका थिए। त्यसबेला औपचारिक नामकरण भने भइसकेको थिएन।

विसं २०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सुरु भएको यो अस्पताल हाल १० शय्यामा सञ्चालित छ। अस्पतालले बीमा सेवा, प्रयोगशाला परीक्षण (ल्याब), इको, भिडियो एक्सरेजस्ता स्वास्थ्य सुविधाहरू प्रदान गर्दै आएको छ।

प्रधानमन्त्री ओलीले अस्पतालको पूर्वाधार र सेवा विस्तारमा संघीय सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धतासमेत जनाए। उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय प्रतिनिधि, जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com