काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कसैले पनि विभाजन गर्न नसक्ने स्पष्ट चेतावनी दिएका छन्। मेचीनगरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीभित्र देखिएको असन्तुष्टिप्रति संकेत गर्दै यस्ता अभिव्यक्ति दिएका हुन्।

“अब राप्रपा फुट्छ भन्ने सोच्न पनि सकिँदैन,” लिङ्देनले भने, “राप्रपा नयाँ उत्साह र नवीन दृष्टिकोणसहित देशका लाखौं युवाको आशा र भरोसाको पार्टी बनेको छ। त्यसैले कुनै पनि हालतमा विभाजनको सम्भावना छैन।”

advertisement

अध्यक्ष लिङ्देनले पार्टीभित्र अराजकता फैलाउन खोज्नेहरूलाई कडाइका साथ अनुशासनको घेरामा ल्याइने चेतावनीसमेत दिए। “पार्टीको नेतृत्वमा रही मैले कुनैपनि त्यस्तो कार्य गरेको छैन जसले कार्यकर्ताको शिर झुकाउने होस्,” उनले जोड दिए।

पछिल्लो समय राप्रपाभित्रको आन्तरिक कलह सतहमा देखिएको छ। उपाध्यक्ष मुकुन्दश्याम गिरी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणा र महामन्त्री कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति गम्भीर असहमति जनाएका छन्। यसपछि पार्टी नेतृत्व थप कठोर बनेको देखिन्छ।

जवाफमा, अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई पदबाट बर्खास्त गरिसकेका छन्। यसअघि उनले अनुशासन समितिका अध्यक्ष नवराज सुबेदीलाई पनि हटाइसकेका थिए। यस्तै, प्रवक्ताको जिम्मेवारीमा रहेका सगुनसुन्दर लावतीलाई पदमुक्त गरिएको थियो।

केही समयअघि महामन्त्री डा. राणाबाट संगठन विभाग प्रमुखको जिम्मेवारी पनि फिर्ता लिइएको थियो।

पार्टीभित्र आन्तरिक असमझदारी चुलिँदै गए पनि अध्यक्ष लिङ्देनले एकता कायम राख्दै पार्टीलाई अझ सुदृढ बनाउने अडान व्यक्त गर्दै आएका छन्।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com