सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो एक पुरानो घर अचानक भत्किँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चन्द्रनगर गाउँपालिका–६ स्थित कामद टोलमा रहेको नबिन सिंहको दुईतले पुरानो पक्की घर मंगलबार अपराह्न करिब साढे ४ बजे अचानक भत्किएको हो । सोही घरको आँगनमा खेलिरहेका बालक अरुण माझीलाई भत्किएको घरले पुरेको थियो
घटनाको खबर पाउनेबित्तिकै प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहितको उद्धार टोली परिचालन गरिएको थियो ।
प्रहरीले अन्य व्यक्ति पनि च्यापिएको हुन सक्ने आशंकामा मलबा हटाउने कार्यलाई तीव्र बनाएको छ । हाल घटनास्थलमा उद्धारकार्य जारी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार











प्रतिक्रिया