काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको आन्तरिक विवाद गहिरिँदै जाँदा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच गुटगत गतिविधि खुलेर देखा पर्न थालेका छन्। दुवै पक्ष आ–आफ्ना रणनीति तय गर्न होटलदेखि कोठे बैठकसम्ममा सक्रिय देखिएका छन्।
यसैक्रममा बिहीबार अध्यक्ष लिङ्देन पक्षले बत्तीसपुतलीस्थित तपस होटलमा बैठक आह्वान गरेको छ। लिङ्देन निकट केन्द्रीय सदस्य तथा नेताहरूलाई सो बैठकमा सहभागी हुन बोलाइएको छ। बैठकमा पार्टीभित्रको बढ्दो अन्तरविरोध, राणा समूहविरुद्धको रणनीति तथा आगामी महाधिवेशन लक्षित योजनाबारे छलफल हुने बताइएको छ। बैठक व्यवस्थापनका लागि नेता हेमजंग गुरुङले बुधबार नै होटल बुकिङ गरेका थिए। यसअघि साउन दोस्रो साता पनि लिङ्देन पक्षको बैठक यही होटलमा बसेको थियो।
यसअघि राणा पक्षसमेत हात्तीसारस्थित नेपाल हाउसमा भेला भएको थियो। सोभन्दा पहिले राणाको निवासमै बसेको बैठकले अध्यक्ष लिङ्देनको “एकलौटी क्रियाकलाप”विरुद्ध चुप नबस्ने निर्णय गरेको थियो।
राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले महाधिवेशन नजिकिँदै गर्दा गुटगत गतिविधि देखिनु स्वाभाविक भए पनि अध्यक्षकै नेतृत्वमा एकपक्षीय भेला आयोजना हुनु पार्टी इतिहासमै दुर्लभ भएको टिप्पणी गरे। उनले भने, “अध्यक्ष साझा बन्न सक्नुभएन। बोलाइएको भेला पूर्ण रूपमा गुटीय हो, यसको कुनै औपचारिकता र अर्थ छैन। यो अधिवेशन लम्ब्याउने प्रपञ्च मात्रै हो। हामी चाहन्छौँ, तोकिएको मङ्सिरमै महाधिवेशन होस्।”
महामन्त्री राणाले यसैबीच आइतबार अध्यक्ष लिङ्देनलाई औपचारिक पत्र लेखेर कार्यकर्ताहरू नेतृत्वप्रति चिन्तित र सशंकित रहेको उल्लेख गरेका छन्। पत्रमा उनले जिल्ला अधिवेशनको सन्दर्भमा केन्द्रीय निर्वाचन समितिको निर्देशन उल्लंघन गर्दै नेताहरूलाई स्वेच्छाचारी ढंगले कारबाही र निष्कासन गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। साथै, उनले तुरुन्त केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका छन्।
तर राणा पक्षको भनाइमा, उक्त पत्रबारे अध्यक्ष लिङ्देनले कुनै प्रतिक्रिया नदिई उल्टै गुटगत बैठक बोलाएर महाधिवेशन सार्ने रणनीति बनाइरहेका छन्। लिङ्देन पक्षले भने राणा समूहको गतिविधिलाई अर्थहीन ठहर गर्दै अध्यक्षले पार्टी विधानअनुसार नै निर्णय गरिरहेको दाबी गर्दै आएको छ।
विवादको सुरुवात अध्यक्ष लिङ्देनले महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि भएको हो। पछिल्लो समय नवराज सुवेदीलाई अनुशासन समिति प्रमुखबाट हटाएपछि झन् विवाद चर्किएको छ। उक्त विषय अहिले निर्वाचन आयोगसम्म पुगेको छ, जसले पार्टीभित्रको संकट थप गम्भीर मोडमा पुगेको संकेत दिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया