काठमाडौं । नेपाली कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग तीव्र बनेको छ । सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको संयुक्त बैठकमा पार्टी नेताहरूले सभापति शेरबहादुर देउवालाई सरकारबाट अलग हुन कडा दबाब दिएका हुन् ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेस तत्कालै सरकारबाट बाहिरिएर राष्ट्रिय तथा सर्वदलीय सरकार गठनको पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले भने, ‘वर्तमान सरकारबाट अलग भइ अब सर्वदलीय सहमतिमा अघि बढ्न कांग्रेसले नेतृत्व लिनुपर्छ।’
तर देउवाले सात बुँदे सहमतिको कारण तत्काल निर्णय गर्न कठिनाइ हुने धारणा राखे । ‘सात बुँदे सहमति गरेर बसेका छौँ, अहिले कसरी सरकार छाड्ने भन्ने प्रश्न छ,’ देउवाको जवाफ निधिलाई उद्धृत गर्दै भनिएको छ । त्यसप्रति निधिले प्रतिक्रिया दिँदै भने, ‘त्यो सहमति बनेको अवस्था अहिले सकिएको छ, त्यसैलाई आधार बनाएर सर्वदलीय सरकार बनाउनुपर्छ।’
महामन्त्री गगन थापाले भने सरकारमाथि चर्को असन्तोष प्रकट गर्दै तत्काल समर्थन फिर्ता लिनुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालमार्फत हालै जेन–जीमाथि भएको दमनको आलोचना गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीले यस्तो अमानवीय दमनपछि पदमा बसिरहनु हुँदैन। यस्तो अवस्थामा कांग्रेस पनि सरकारमै बसिरहनु घातक हुन्छ।’ उनले निर्दोष युवामाथि भएको गोलीकाण्डको पीडादायी दृश्य आफूले सहन नसकेको उल्लेख गर्दै कांग्रेस अब एक दिन पनि यस्तो अवस्थाको साझेदार रहन नहुने स्पष्ट गरे ।
त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि सत्ता मोह त्यागी कांग्रेसले आत्मसमिक्षा गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘देशमा भएका दर्दनाक घटनाले सम्पूर्ण नेपाली जनतामा गहिरो घाउ पारेको छ। यस्तो समयमा कांग्रेसले सत्ता मोह त्यागेर जनता सामु सत्यनिष्ठ माफी माग्दै नयाँ बाटो देखाउनुपर्छ।’
यसरी कांग्रेसभित्र शीर्ष तहमै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने आवाज बलियो बनेसँगै आगामी दिनमा पार्टीको औपचारिक निर्णयमा यसले ठुलो प्रभाव पार्ने देखिएको छ ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया