काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जेड आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिको पद खाली गर्ने प्रयास भएको दाबी गरेका छन्। संविधान दिवसका अवसरमा शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले संवैधानिक संकट टार्न आफूले प्रत्यक्ष भूमिका खेलेको बताएका हुन्।

प्रचण्डका अनुसार आन्दोलनपछिको अस्थिरतामा संसद् विघटन र अन्तरिम व्यवस्था ल्याउने तयारी चलेको थियो। उनले भने, ‘ संविधान र लोकतान्त्रिक व्यवस्थामाथि ठूलो खतरा आयो। मैले राष्ट्रपतिज्यू, प्रधानसेनापति र नेताहरूसँग रातभर छलफल गरेर संविधान जोगाउन आग्रह गरेँ।’ यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको दृढता र सेनापतिको भूमिकाले संविधान बचाउन महत्त्वपूर्ण योगदान दिएको भन्दै उनले धन्यवाद दिए।

advertisement

उनले भने, जेन-जीले उठाएका मागहरू आफूहरूले एक दशकअघि नै उठाएको उल्लेख गर्दै आन्दोलनका क्रममा दर्जनौँ युवाको मृत्यु हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनका अनुसार ठूला दलको अहंकारले नै देश गम्भीर संकटमा पुगेको हो। “यो अहंकारको मूल्य चर्को पर्छ। जनतामा आक्रोश बढ्दो छ, जुन कुनै बेला विस्फोट हुन सक्छ,” उनले चेतावनी दिए।

प्रचण्डले भदौ २३ गते प्रधानमन्त्रीको राजीनामा माग्दा बेवास्ता गरिएकै कारण भोलिपल्ट थप घटना भएको दाबी गरे। उनले जेन–जी आन्दोलनलाई पहिलोदेखि नै माओवादीले समर्थन गर्दै आएको स्मरण गराए।

उनले पार्टीका कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्दै भने, “हामी गलत थिएनौँ। हामीले ऐतिहासिक विद्रोहमार्फत सबै वर्गलाई अधिकार दिलाएका छौँ। गर्वका साथ अघि बढ्नुपर्छ।’

संविधान निर्माण प्रक्रियामा आफूले ठूलो दबाब र धम्कीका बीचमा पनि नडराई संविधान घोषणासम्म पुर्‍याएको उल्लेख गर्दै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन निरन्तर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com