दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा उनले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गरे ।

advertisement

उनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार तयार छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । सरकारले निर्वाचनको वातावरण बनाउछ, यो सन्देश देशभर फैलाउन जरुरी छ ।’

उनले सुशासनमा सम्झौता नगर्ने भन्दै ६ महिनाभित्र अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गरे । उनले जेनजी आन्दोलनको विरुद्धमा हुने कुनै पनि कार्य सरकारलाई शैह्य नहुने स्पष्ट पारे । उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खरेलका अनुसार वर्तमान सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको छ । उनले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेललाई उनको गृह जिल्ला दोलखामा अभिनन्दन गरिएको थियो । आइतबार दोलखा पुगेका सञ्चारमन्त्रीलाई कालिञ्चोकको सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले भव्य स्वागतसहित अभिनन्दन गरेको हो ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com